Logo

उपचारमा संलग्न डाक्टरलाईनै फैलिन थाल्यो कोरोना संक्रमण, सामान्य बिरामीलाई के असर गर्ला ?

उपचारमा संलग्न डाक्टरलाईनै फैलिन थाल्यो कोरोना संक्रमण, सामान्य बिरामीलाई के असर गर्ला ?



काठमाडौं । भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना १० महिने बच्चा संक्रमित भएका हुन् ।

अग्रपंक्तिमा रहेर काम गर्ने ८ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट प्रभावित भएको अस्पतालले आइतबार पुष्टि गरेको छ । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र उनीहरुले को को सँग सम्पर्क गरेका थिए भन्ने बारेमा विवरण संकलन भइरहेको पनि अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछिको योजनाका बारेमा छलफल गर्न अस्पतालले उच्च अधिकारीहरुको बैठक बोलाएको छ । यसैबीच, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई १ करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन ।

कोरोनाभाइरस विरुद्ध काम गर्ने क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनीहरुका परिवारलाई प्रतिव्यक्ति भारु १ करोड दिइने उनले शनिबार घोषणा गरेका हुन । नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यदि कुनै चिकित्सक, नर्स, सरसफाई कर्मचारी, प्रयोगशालाका प्राविधिक वा यस्तै कोही व्यक्ति उपचारका लागि खट्दा निधन हुनसक्छ, उनीहरुका परिवारलाई राहत स्वरुप भारु १ करोड दिइने छ ।’

मुख्यमन्त्री केजरीवालले ६० ओटा सेनिटाइजेसन मेसिनमार्फत शहर बजारमा सरसफाई गर्ने कार्य भइरहेकोसमेत जानकारी दिएका छन । त्यस्तै उनले सामाजिक दुरी कायम गर्न आम नागरिकलाई आग्रह गरेका छन । शिविर बनाइएका क्षेत्रमा सामाजिक दुरीको अलि बढी ख्याल गर्नु पर्ने उनको भनाई छ ।

शहरी क्षेत्रमा ७१ ओट शिविर बनाएकोसमेत उनले जानकारी दिएका छन । अलपत्र परेका तथा खान बस्न नपाएकाहरुलाई त्यस्ता शिविरहरुमा राखिएको मुख्यमन्त्री केजरीवालले जानकारी दिएका छन । (राससरएएनआई)

प्रतिक्रिया दिनुहोस्