Logo

अफ्रिका अब कोरोनाको ईपिसेन्टर बन्ने डब्लुएचओको चेतावनी, ३ करोड मानिस गरिबीको रेखामुनी, ३ लाख मर्ने

अफ्रिका अब कोरोनाको ईपिसेन्टर बन्ने डब्लुएचओको चेतावनी, ३ करोड मानिस गरिबीको रेखामुनी, ३ लाख मर्ने



काठमाडौं । विश्वभर फैलिरहेको कोभिड १९ (कोरोना भाईरस) ले अहिले विश्व आक्रान्त छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका कारण अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी दिएको छ ।

कोरोना भाईरसबाट हालसम्ममा अफ्रिकामा १ हजारभन्दा बढीको मृत्यु भईसकेको छ भने १९ हजारभन्दा बढी संक्रमित छन् । पछिल्लो जानकारी अनुसार अफ्रिकामा कोरोनाको कारणले ३ करोड मानिस गरिबीको रेखामुनी पुग्ने र करिब ३ लाख व्यक्तिको मृत्यु हुनसक्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बताएका छन ।

राष्ट्रसंघीय अफ्रिकी आर्थिक कमिसनले ३ लाख व्यक्तिको मृत्यु हुन सक्ने चेतावनी दिँदै महामारी नियन्त्रणका लागि १ खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ । अफ्रिकामा रहेका मानिसहरु पानीको पर्याप्त पहुँचमा छैनन् भने शहरी क्षेत्रका करिब ६० प्रतिशत मानिस घना सुकुम्बासी क्षेत्रमा बस्छन् । जस्ले गर्दा पनि कोरोना संक्रमणको खतरा बढेको अधिकारीहरु बताउँछन ।

साथै संक्रमण अफ्रिकाका राजधानीभन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको र यस्तो भए अवस्था भयावह हुने डब्लुएचओको चेतावनी छ । अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेको जनाइएको छ । १ अर्ब ३० करोड मानिस बस्ने अफ्रिकाको उत्तरी क्षेत्र बढी प्रभावित छ । अल्जेरिया, इजिप्ट र मोरक्कोमा २ हजार भन्दा बढी संक्रमित छन् । यद्यपि, धेरै देशले लकडाउन गरेका छन्/एजेन्सी

प्रतिक्रिया दिनुहोस्