Logo

अमेरिकामा कोरोनाबाट ३० हजार भन्दा बढीको मृत्यु, ट्रम्प भन्छन- अमेरिकामा लकडाउन खुकुलो बनाइन्छ

अमेरिकामा कोरोनाबाट ३० हजार भन्दा बढीको मृत्यु, ट्रम्प भन्छन- अमेरिकामा लकडाउन खुकुलो बनाइन्छ



काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ ।

यो तथ्यांक नेपाली समयानुसार बिहीबार बिहानसम्मको हो । त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ । कोरोना भाइरसबाट बिहीबार बिहानसम्म संक्रमित हुने ६ लाख ३७ हजार पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ । अमेरिकामा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ । गएको २४ घन्टायता यहाँका २ हजार ४९४ जनाको यही संक्रमणबाट ज्यान गएको बताइएको छ ।

प्राप्त समाचारअुनसार अमेरिकामा संक्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन् । त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ । त्यसैगरी सबैभन्दा धेरै नागरिक पनि यही राज्यका रहेका सो युनिभर्सिटीले जनाएको छ । उक्त तथ्यांकमा यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ३ हजार १५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्य न्युयोर्कपछि सबैभन्दा धेरै मृत्यु र संक्रमित हुनेमा पर्दछ । त्यसपछि सबैभन्दा बढी प्रभावित हुने राज्य मिचिगन हो । उक्त राज्यमा अहिलेसम्म १ हजार ९२१ जनाको ज्यान गइसकेको छ । मिचिगनपछि म्यासाचुसेट्समा धेरै मानिस मरेका छन् । त्यहाँ १ हजार १०८ जनाले यो भाइरसका कारण ज्यान गुमाएका छन् ।

गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको उहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वका २० लाख ६३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेको सो युनिभर्सिटीको तथ्यांकमा छ । त्यसैगरी यो भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिकामा लकडाउन खुकुलो बनाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताएका छन् । उनले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहे पनि कोरोना संक्रमण ‘उच्चतम विन्दुमा’ पुगिसकेको दाबी गरे । गत वर्षको अन्त्यतिर चीनमा देखिएको कोरोनाभाइरसको महामारीले विश्वलाई नै उल्टो दिशातर्फ मोडेको छ भने आधा मानवतालाई घरभित्रै रहन बाध्य पार्नुका साथै विश्व अर्थतन्त्रलाई दोस्रो ठूलो संकटतर्फ अग्रसर बनाएको छ ।

एएफपीको तथ्याङ्क अनुसार २० लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने एक लाख ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । संयुक्तराज्य अमेरिकामा मात्र गत २४ घण्टाको अवधिमा २ हजार ६०० जनाको मृत्यु भएको छ ।

तर राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भाइरस नियन्त्रणमा चालिएका ‘आक्रामक रणनीति’ ले काम गरिरहेको दाबी गरेका छन् । उनले भने ‘तथ्याँक हेर्दा नयाँ घटनामा कमी आउन थालेको छ, र उच्चतम विन्दु पार गरेको छ ।’ उनले देशका खुला गर्न खोजिएका क्षेत्रहरुमा पनि कोरोना प्रसार रोक्न स्पष्ट ‘निर्देशिका’ जारी गर्ने बताए । उनले कम प्रभावित राज्यमा आगामी मे १ तारिखभन्दा अगाडि नै प्रतिबन्धहरुलाई खुकुलो बनाइने जानकारी दिए ।

विश्वका धेरै मुलुकका नेताहरू कोरोना संक्रमणको विनाशकारी दोस्रो लहरका जोखिमबाट बच्दै कसरी बिग्रिएको अर्थतन्त्रलाई सही मार्गमा ल्याउने भन्नेमा द्विविधामा रहेका छन् । युरोपमै ठूलो अर्थव्यवस्था रहेको जर्मनीकी चान्सलर एन्जेला मर्केलले व्यवसायहरु खोल्न र विद्यालयहरु पुनः शुरु गर्न केही ‘सावधानीपूर्वक,’ कदमहरु घोषणा गरेका छन् ।

युरोपेली मुलुक डेनमार्कले प्राथमिक विद्यालयहरु खोल्न अनुमति दिएको छ भने फिनल्याण्डले हेलसिन्कीमा जारी लकडाउन हटाएको छ । लिथुआनियाले भने बिहीबारदेखि साना पसलहरू खोल्न अनुमति दिएको छ, जबकि अति प्रभावित इरानले केही साना व्यवसायहरूलाई पुनः सञ्चालन सुरु गर्न अनुमति दिएको छ । न्यूजील्याण्डले अर्को हप्तादेखि आफ्नो राष्ट्रव्यापी लकडाउन सहज गर्न थाल्नेछ । यद्यपि ब्रिटेनले आफ्नो लकडाउनलाई अरु बढाउने गरी बिहीबार नयाँ प्रस्ताव घोषणा गर्दैछ । बेल्जियमले मानिसलाई घरभित्रै बस्ने गरी जारी गरेको आदेशलाई आगामी मे ३ तारिखसम्म बढाएको छ ।

विकासोन्मुख मुलुकहरुमा खाद्य सामग्रीको अभाव हुने खतरा उत्पन्न हुँदैछ । खासगरी अफ्रिका र दक्षिण अमेरिकामा उत्पन्न खाद्य संकटले सामाजिक व्यवस्थामा गम्भीर असर पार्नेछ । रियादमा, विश्वका प्रमुख अर्थतन्त्र भएका २० वटा औद्योगिक राष्ट्रहरुको समूह ९जी–२०० ले अति गरिब राष्ट्रहरूका लागि ऋण भुक्तानीको समयावधि एक वर्ष थप्न सहमति भएको छ ।

अमेरिकामा पनि यस महामारीले कम्तिमा १ करोड ७० लाख मानिसलाई आफ्नो रोजगारी गुमाउन बाध्य बनाएको छ । कोरोनाका कारण सिर्जित उदासिनताका बाबजुद पनि विश्वभर उदारताका कथाहरूले हौसला बढाउँछन् । बेलायतमा एक जना दोस्रो विश्वयुद्धमा लडेका ९९ वर्षीय टम मूरले बेलायती स्वास्थ्यकर्मीहरूका लागि करिब १ करोड ५० लाख डलर रकम संकलन गरेका छन् । ह्वीलचेयरको सहायतामा हिँड्नु पर्ने मूरले भने ‘दोस्रो विश्वयुद्धमा सिपाहीहरु अग्रमोर्चामा थिए, अहिले हाम्रा सेनाहरु डक्टर र नर्सहरु हुन् ।’ रासस

प्रतिक्रिया दिनुहोस्
MBL