Logo

छिमेकी भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु

छिमेकी भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण २४ घण्टामा ७ सय ९८ जना नयाँ संक्रमित थपिएको छ । सोमबार बिहानको तथ्याङ्कअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको सोमबार विहानसम्म ९ हजार १५२ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । सोमबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घण्टामा मृत्यु हुनेको संख्या ३५ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०८ जना पुगेको छ ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ९८५ जना पुगेको सोमबार विहान प्राप्त समाचारमा जनाइएको छ । महाराष्ट्रमा मात्र १४९ जनाको ज्यान गएको छ भने २१७ जना उपचारपछि घर फर्किएका छन् । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको समाचारमा जनाइएको छ ।

भारतमा देखिएका यी संक्रमितहरुमध्ये ८५७ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ८ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् । महाराष्ट्रपछि सबैभन्दा बढी विरामी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र १ हजार १५४ जना संक्रमित रहेका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन ।

तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या सोमबार बिहानसम्म १ हजार ७५ जना पुगेको छ । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका हुन् । (रासस/एएनआई)
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्