Logo

क्यानडाले ल्यायो ५२ अर्ब डलरको आर्थिक सहायता प्याकेज, कर्मचारीको ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने

क्यानडाले ल्यायो ५२ अर्ब डलरको आर्थिक सहायता प्याकेज, कर्मचारीको ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने



काठमाडौं । क्यानाडाको संसदले शनिबार दोस्रो विश्वयुद्धपछि देशको सबैभन्दा ठूलो आर्थिक उपायका रुपमा एक ज्याला (वेतन) अनुदान कार्यक्रम पारित गरेको छ । व्यवसाय र उनीहरूका कामदारलाई कोरोनाभाइरस संकटबाट जोगिन उक्त कार्यक्रमले मद्दत गर्ने क्यानाडा सरकारले विश्वास गरेको छ ।

क्यानाडाको संसद हाल स्थगित छ, तर इस्टर सप्ताहन्तको मध्यमा बसेको संसदको असाधारण सत्रले करिब ५२ अर्ब अमेरिकी डलरको कार्यक्रम स्वीकृत गरेको छ । कर्मचारी कटौतीको समस्या समाधान गर्न कम्पनीमा कार्यरत कर्मचारीको तलबको ७५ प्रतिशत रकम सरकारले व्यहोर्नेछ ।
प्रधानमन्त्री जस्टिन ट्रूडोले उक्त कार्यक्रम पारित गर्ने संसद अधिवेशनमा भाग लिएका थिए । आफ्नी पत्नीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री जस्टिन एक महिनाका लागि घरमा नै एकान्तबासमा बसेका थिए ।

प्रधानमन्त्री जस्टिनले कोरोना महामारीका कारण ‘फ्रन्टलाइन’ जताततै देखिएको बताएका छन । उनले भने, ‘अहिले यो फ्रन्टलाइन हाम्रो घरमा, हाम्रा अस्पतालहरूमा र सेवा केन्द्रहरूमा, हाम्रा किराना पसलहरूमा र औषधि पसलहरुमा, यातायातका साधन रोक्ने ठाउँहरुमा र ग्यास स्टेशनहरूमा छ’, उनले भने, ‘यी स्थानहरूमा काम गर्ने मानिसहरू हाम्रो आधुनिक दिनका नायकहरू हुन ।’

कोरोना संकट उत्पन्न भएयता यो दोस्रो आर्थिक सहयोग विधेयक हो । पछिल्लो विधेयकको मुख्य उद्देश्य नै ‘क्यानाडालीहरुलाई आफ्नो जागिर जोगाइ राख्न र तलब पाउने सुनिश्चित गराउनु हो’, प्रधानमन्त्रीले भने, ‘यो दोस्रो विश्वयुद्धपछि क्यानाडाको सबैभन्दा ठूलो आर्थिक प्याकेज हो ।’

अर्थमन्त्री बिल मोरेनोले यो तलबी आर्थिक प्याकेज तीन महिनाका लागि रहेको बताएका छन । क्यानाडामा गत महिना १० लाखभन्दा बढी रोजगारी गुमेको थियो । क्यानाडामा शनिबारसम्ममा २३ हजार १९७ जना कोरोना संक्रमित रहनुका साथै ६७८ जनाको ज्यान गएको छ । (रासस–एएफपी)

प्रतिक्रिया दिनुहोस्