Logo

कुन राष्ट्रले पाउँला कोरोना भाइरसविरुद्ध पहिलो बिजय ? कुन देश के गर्दैछन अहिले

कुन राष्ट्रले पाउँला कोरोना भाइरसविरुद्ध पहिलो बिजय ? कुन देश के गर्दैछन अहिले



काठमाडौं । डिसेम्बर अन्तिमदेखि सुरु भएको कोभिड १९ (कोरोना भाईरस) का कारण अहिले विश्वनै आक्रान्त छ । जसका कारण ६५ हजारभन्दा बढीले ज्यान गुमाईसकेका छन भने १२ लाख भन्दा बढी ब्यक्ति उक्त भाईरसबाट संक्रमित भईसकेका छने । विश्वकै महाशक्ति भनिएको अमेरिकाले पनि कोरोना भाइका अगाडि घुँडा टेक्नु परेको छ । अरु शक्तिशाली भनिएका देशहरुले पनि हालसम्म उक्त भाईरस निर्मुल पार्नका लागि कुनै ठोस काम गर्न सेका छैनन् ।

अहिलेसम्म आधिकाारिक रुपमा कुनै पनि देशले भ्याक्सिन तयार गरेको जानकारीमा आएको छैन् । तर, पनि विश्वका बैज्ञानिकहरु दिनरात त्यसैमा लागिरहेका छन । अहिले कोरोना भाईरस विज्ञानका ठूला–ठूला आविष्कार गरेर आफूलाई अब्बल प्राणी सावित गरिसकेको मानिसका सामु चुनौतीको रुपमा खडा भएको छ ।

विश्वका अब्बल ठान्ने देशहरुले अर्बों रुपैयाँ खर्चेर उक्त भाईरसको भ्याक्सिन तयार गर्न लागेपनि अहिलेसम्म कुनै पनि देशले सफलता भने प्राप्त गर्न सकेका छैनन । पछिल्लो समयमा चीन, अमेरिका, अष्ट्रेलिया जस्ता देशहरुले उक्त भ्याक्सिन तयार गरी परीक्षणको क्रममा रहेको बताए पनि हालसम्म भ्याक्सिनको टुङ्गो लाग्न सकेको छैन ।

चीन

चीनको वुहानबाट सुरु भएको उक्त भाईरस अहिले विश्वको करिब २ सय भन्दा बढी देशमा फैलिसकेको छ । चीनमा भने पछिल्लो समयमा आएर उक्त भाईरस नियन्त्रित हुँदै गएको छ । साथै चीन चीन कोरोनाविरुद्ध खोप विकासमा समेत सक्रिय छ । चीनले तयार पारेको कोरोना भाइरसविरुद्व खोपको प्रयोग जनावरमा गरी सफल भएको चिनियाँ एकेडेमी मेडिकल साइंसेजको प्रयोगशाला पशु विज्ञान संस्थानका प्रमुख किन चुआनले मंगलबार ब्रिफिङमार्फत जानकारी दिईसकेकी छिन । चीनले तयार गरेको उक्त खोप परीक्षण मुसा र बाँदरमा गरिरहेको छ । हाल केही परीक्षण सफल भए पनि चीनले भ्याक्सिनको अन्य असरको खोजी भइरहेको जानकारी दिएको छ ।

कोरोनाको संक्रमणका लागि एउटा प्रभावकारी भ्याक्सिनको कार्य तीव्रगतिमा गरिरहेको चीनले छिट्टै उक्त भ्याक्सिनको परीक्षण मानिसमा गर्ने तयारी भईरहेको चिनियाँ शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधीका निर्देशक लेई चाओजीले जानकारी दिएका छन । तर उक्त भ्याक्सिनको निर्माणको उचित समय भने निर्धारण भइसकेको छैन् । चीनको विज्ञान प्रविधि मन्त्री जु नानपिंगले अप्रिल महिनाको अन्त्यसम्म भ्याक्सिनको परीक्षण गर्ने सम्भावनाबारे भने जानकारी दिएका छन् ।

रुस

चीन पछि रुसलेसमेत कोरोना भाइरसको भ्याक्सिन जनवारमा परीक्षण गरिरहेको छ । रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको क्लिनिकल परीक्षण अप्रिल महिनाभित्र पूरा हुनेछ । रुसले अहिले मुसालगायत विभिन्न जनावरहरुमा भ्याक्सिनको परीक्षण भइरहेको जानकारी दिएको छ । अप्रिलसम्ममा जनवारमा परीक्षण सक्ने र मे महिनाबाट पूर्व क्लिनिक परीक्षण शुरु हुने रुसी संचारमाध्यमहरुले जनाएको छ । भ्याक्सिनको विकास भेक्टर स्टेट रिसर्च सेन्टर अफ भिरोलोजी एन्ड बायोटेक्नोलोजीले गरिरहेको हो । जुन महिनाको अन्तसम्म पूर्व क्लिनिकल परीक्षण पूरा भई क्लिनिकल परीक्षण शुरु हुनेछ । शुरुमा भ्याक्सिनका विभिन्न पदार्थहरु बनाइनेछ ।

त्यसतै अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको हो । यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जानकारी दिएको छ ।

सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोनाभाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउँदै यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी दिएका छन । उनले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोनाभाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेकोसमेत बताएका छन । संक्रामक रोगको महामारीविरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल (सेपी) को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोनाभाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो । भ्याक्सिनको प्रभावकारिताका अलावा सिसिरोले भ्याक्सिन लगाउने तरिकाका बारेमा पनि मूल्याँकन गर्न लागेको छ ।

यो भ्याक्सिन प्रभावकारी र सुरक्षित हुने देखिए पनि आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने छ । प्रयोगशालामा निर्माण गरिएको सार्स–कोभ–२ अर्थात् कोरोनाभाइरसलाई गत जनवरीमा एएएचएल प्रयोगशालामा पठाइएको थियो । ‘हामीले कोरोनाभाइरसका सम्बन्धमा जनवरीदेखि नै अनुसन्धान गरिरहेका छौं र जतिसक्दो चाँडो मानिसमा परीक्षण गर्ने योजना पनि बनाइरहेका छौं’, एएएचएलका निर्देशक ट्रेभोर ड्रिउले भने ।

अमेरिका

अमेरिका कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने पहिलो देश बन्ने दौडमा छ । अमेरिकाले भने भ्याक्सिनको मानव परीक्षणसमेत शुरु गरिसकेको छ । कोरोना भाइरसको संक्रमणविरुद्धको भ्याक्सिनको पहिलो मानव परीक्षण भएको छ । भ्याक्सिन विकासमा लागेको अमेरिकी कम्पनि हो मोडर्ना थेरापेटिक्स । भ्याक्सिनको पहिलो मानव परीक्षणपछि भ्याक्सिन विकास गरिरहेको कम्पनि अगाडि बढ्ने सोचमा पुगेको छ । यद्यपि, भ्याक्सिनको पूर्ण विकास गरी प्रयोगमा ल्याउन कम्तिमा एक वर्ष लाग्नेछ । पछिल्लो परीक्षणले रोग प्रतिरोधात्मक प्रणालीले कसरी कोरोना भाइरविरुद्ध काम गर्छ भनेर महत्वपूर्ण जानकारी दिनसक्छ । यसले वैज्ञानिकहरुलाई अझ अगाडि बढ्न सहयोग पुग्ने छ ।

पहिलो परीक्षण सफल र सुरक्षित देखिएमा यसको पुनः परीक्षण ४५ जनामाथि हुनेछ । ती ४५ जना सार्स, कोभ २ र कोभिड १९ को भाइरसबाट संक्रमित नभएको हुनुपर्नेछ । उनीहरुले तीन किसिमका भ्याक्सिनको मात्रा प्रयोगमा ल्याउनेछन् । जसले रोगप्रतिरोधात्मक प्रणालीलाई कोरोना भाइरसविरुद्ध सक्रिय बनाउन भूमिका खेल्ने भनिएको छ । यसमध्ये कुन चाहिं सबैभन्दा सफल र प्रभावकारी हुन्छ भनी परीक्षणबाट पत्ता लाग्नेछ ।

अनुसन्धानकर्ताहरुले सयौं मानिसमा त्यसको परीक्षण गर्नेछन् । भ्याक्सिन सुरक्षाका लागि मात्र नभई प्रभावकारी र सफल भएको प्रमाणित हुनुपर्छ । भ्याक्सिनको परीक्षण भइरहँदा यसको लाखौं मात्रा उत्पादनको पूर्व तयारी भइसकेको छ । व्यवसायिक उत्पादनको तयारीमासमेत कम्पनि लागिसकेको छ । भ्याक्सिनको संक्रमितलाई लगाउन अझै केही महिना लाग्छ । नेष्नल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्टिअस डिजिजेसका निर्देशक डा. एन्थोनी फौसीले अर्को १२ देखि १८ महिना नलाग्ने आँकलन गरेका छन् । उनले हप्ता, दिन र मिनेट गनेर काम गरिरहेको बताए । मोर्डना थेरापेटिक्सका अध्यक्ष हज भन्छन, ‘यो एउटा दौड हो, भाइरसविरुद्धको दौड ।’ उनले हरेक समयलाई महत्वपूर्ण ठान्दै नतिजाका लागि काम गरिरहेको बताएका छन ।

भारत

अन्य देशहरुसँगै भारतले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिनको तयारीमा लागेको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरेका हुन् । यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भ्यासिनको मानवमाथी परीक्षण ६ महिनापछि हुने बताइएको छ । त्यसअघि मुसामा यसको परीक्षण हुनेछ । सेरमका प्रमुख कार्यकारी निर्देशक अडर पुनवालाले भ्याक्सिन परीक्षणका लागि आफूहरु निकै अगाडी बढिसकेको बताएका छन । सामान्यता कुनैपनि भ्याक्सिन पूरा विकास गर्न सात देखि आठ वर्ष लाग्ने गरेकोमा ६ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्यासिन तयार हुने बताएका छन् ।

तयार गरिएको भ्याक्सिन मुसामा परीक्षण भइसकेको छ । मानवमाथि ६ महिनापछि परीक्षण गरी यसलाई अनुमोदन गरिने उल्लेख छ । सन् २०२२ मा भ्याक्सिनको व्यवसायिक उत्पादन र वितरण हुनेछ । ६ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गरेपछि यो अहिलेसम्म भारतमा बनेका भ्याक्सिनमध्ये सबैभन्दा छिटो हुनेछ ।

खोप कहिले आउँला ?

विश्व स्वास्थ्य संगठनकी इमर्जेन्सी कार्यक्रमकी प्रमुख डा. मारिया भान केरकोभीले विश्वभर २० प्रकारका खोप विकास भइरहेको बताएकी छिन् । उनको भनाई उदृत गर्दै रुसी समाचार संस्था तासले भनेको छ, ‘कोभिड १९ विरुद्ध कम्तिमा २० खोप विकासको चरणमा छ ।’ तर, खोप प्रयोगमा आउन भने समय लाग्नेछ । खराब भाइरस जति खतरनाक हुनसक्छ खराब खोप उत्तिकै खतरनाक हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले त्यसमा निकै सावधानी अपनाउने नीति लिएको उल्लेख छ ।

यसैगरी, अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जानकारी दिएको छ/एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्