Logo

अमेरिकामा कोरोनाले दिनकै हजारौंको ज्यान जान थालेपछि ट्रम्पले भने–अर्को हप्ता हाम्रा लागि अझै चुनौतीपूर्ण छ

अमेरिकामा कोरोनाले दिनकै हजारौंको ज्यान जान थालेपछि ट्रम्पले भने–अर्को हप्ता हाम्रा लागि अझै चुनौतीपूर्ण छ



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो दुई हप्ता भित्र धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन । उनले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्तामा धेरै मानिसको मृत्यु हुन सक्ने जानकारी दिएका हुन ।

साथै अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या बढी देखिएकाले आउँदो दुई हप्तामा धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले शनिबार बताएका हुन । पछिल्लो विवरणमा अमेरिकामा कोरोना भाइरसका कारण तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् ।

ह्वाइट हाउसमा गठन गरिएको कोरोना भाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताए । स्थानीय समय अनुसार शनिबारसम्म अमेरिकामा ८ हजार २९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो ।

राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गर्नु परेकोसमेत जानकारी दिएका छन । उक्त डिपिए जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास छ ।

कार्यदलकी सदस्य डा म्यारी इ. बर्चले राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताए । उनले क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएकोसमेत बताए । अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९४९ जना नयाँ संक्रमित भेटिएका छन् भने १ हजार २३ जनाको मृत्यु भएको छ । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस्
Skip This