काठमाडौं । भारतको नयाँ दिल्ली प्रदेशमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गर्न÷गराउन निर्देशन दिएका हुन् ।
उनको निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुने भएका छन् । विश्वमा माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण दिल्ली राज्यले यस्तो निर्णय लिएको हो ।
मुख्यमन्त्री केजरीवालले विवाह लगायतका कुनै पनि जमघट ५० जनाभन्दा बढीको गराउन नपाइने पनि स्पष्ट पारेका हुन् । राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा सात जना सङ्क्रमित भएको छन् ।
देशभरि भने अहिलेसम्म सङ्क्रमित ११४ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये १७ जना विदेशी छन् । उनीहरुका अनुसार कोरोनाका कारण भारतमा अहिले दुई जना मृत्यु भइसकेको छ । रासस