Logo

कोरोना कहर : चीनमा फेब्रुअरिमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो

कोरोना कहर : चीनमा फेब्रुअरिमा सवारी साधनको बिक्री ७९ प्रतिशत घट्यो



काठमाडौं । कोरोनाभाइरसको त्रासदीका कारण मागमा कमी आएपछि चीनमा सवारी साधनको बिक्री फेब्रुअरिमा ७९ प्रतिशतले घटेको छ । चीनमा एकै महिनामा यतिठूलो गिरावट आएको पहिलो पटक हो ।

चिनियाँ अटोमोबाइल उत्पादक संघ (काम) का अनुसार यस वर्षको फेब्रुअरिमा सवारी साधनको बिक्री न्यून भएर तीन लाख १० हजारमा सीमित भएको छ । संघले चीनमा सवारी साधनको बिक्रीमा कमी आएको यो लगातार २० औं महिना हो । संघका वरिष्ट अधिकारी चेन शिहुवाले नयाँ विद्युतीय कारको बिक्रीमा कमी आएको बताएका छन । विद्युतीय कारको बिक्रीमा लगातार आठ महिनादेखि कमी हुँदै आएको छ ।

संघका अधिकारीले यस वर्षको पहिलो ६ महिनामा १० प्रतिशतभन्दा बढीले घट्ने देखिएको बताएका छन । अप्रिल अघि चीनमा कोरोनाभाइरसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिए पनि वर्षभर करिब ५ प्रतिशतले कमी आउने छ । कार उत्पादनको प्रमुख केन्द्रका रुपमा रहेको हुबेइ प्रान्तमा रहेका सबैजसो कार निर्माता कम्पनीहरुले उत्पादनमा ढिलाई गर्ने बताएका छन् । हुबेइमा डोङफेङ मोटर ग्रुप कम्पनी र यसका साझेदार कम्पनीहरु होन्डा मोटर, रेनल्ट एसए र प्युजेट एसएका कारखानाहरु रहेका छन् ।

शांघाईमा रहेको टेस्लाको उत्पादन र वितरण पनि प्रभावित भएको छ । तर, हुबेइ प्रान्तको राजधानी उहानका सरकारी अधिकारीहरुले कोरोनाभाइरसको त्रास कम भएको जनाउँदै उद्योग, कलकारखाना खोल्न अनुमति दिएको छ । यहाँ होन्डाले आफ्नो कारप्लान्ट शुरु गरेको छ । निस्सान मोटरले पनि हुबेइकै अर्को शहर सियानग्याङस्थित कारखानाबाट आंशिक उत्पादन थालेको छ भने हेनानको झेङझाउ प्लान्ट शुरु गर्ने योजना अघि बढाएको छ ।

संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण पनि चीनको कार बजारमा असर परेको छ/(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्