Logo

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, २ हजार बढी संक्रमित

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, २ हजार बढी संक्रमित



काठमाडौं । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र २ हजार ७ सय ४४ जनामा संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आयोगले जानकारी दिएको छ । गत २४ घण्टामा ७ सय ६९ जनामा उक्त भाईरसको संक्रमण देखिएको छ । साथै अन्य ३ हजार ८ सय ६ जनालाई समेत संक्रमणको आशंका गरिएको आयोगले जानकारी दिएको छ ।

कोरोना भाइरसबाट निको भएर १ हजार बढी व्यक्ति अस्पतालबाट घर फर्किएका छन । साथै घर फर्कनेहरुलाई समेत उच्च निगरानीमा राखिएको छ । उक्त संक्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

ती क्षेत्रमा विभिन्न किसीमले सतर्कता अपनाइएको चीन सरकारले जानकारी दिएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा समेत निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।

संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा समेत छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा ३ जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाई छ ।

यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा सुरु गर्न लागेको छ । अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मंगलबार पठाउने तयारी गरेको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्