Logo

लण्डनको ‘वीच स्ट्रिट’मा अब पेट्रोल र डिजेलयुक्त सवारीसाधन निषेध, २०२५ सम्म पूर्ण कार्वनरहित शहर बनाइने

लण्डनको ‘वीच स्ट्रिट’मा अब पेट्रोल र डिजेलयुक्त सवारीसाधन निषेध, २०२५ सम्म पूर्ण कार्वनरहित शहर बनाइने



काठमाडौं । बेलायतको लण्डनस्थित शहरको एकम भागमा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई पूर्ण निषेधको योजना बनाईएको छ । लण्डनको ‘बीच स्ट्रिट’मा चालु बर्षको बर्षायामदेखि कार्वनरहित सवारीसाधन र साईकललाई मात्रै प्रवेश गर्न दिने निर्णय गरिएको हो ।

उक्त स्थानमा अत्यावश्यक र ढुवानीका साधनबाहेक अन्य सवारीसाधनलाई प्रवेश गर्न नदिने बनाउन लागिएको हो । अब उक्त स्थानका प्रत्येक सडकहरुमा वायुप्रदुषण र ट्राफिकको अनुगमन गर्न उक्त प्रक्रियाको १८ महिनासम्म परीक्षण गरिनेछ ।

लण्डनस्थित वातावरण विभागका अनुसार वातावरणीय प्रभाव रोक्नका लागि र वायुप्रदूषण कम गर्न ठूलै कदम चाल्नुपर्ने हुन्छ । जसका कारण कसैले पनि प्रदुषित हावामा श्वास फेर्नुपर्ने छैन । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पछिल्लो ५ बर्षमा वायुप्रदूषणको मुख्य कारक यातायातलाई मानिएको छ ।

यस्तै बेलायतमा स्वास्थ्यका लागि ठुलो चुनौती नै वातावरण प्रदुषण बनेको छ । ईङ्ग्ल्याण्डको सार्वजनिक स्वास्थ्यका अनुसार वातावारण प्रदूषणकै कारण मुटुलगायतका रोगहरु लागेर बार्षिक २८ देखि ३६ हजार जनासम्मले ज्यान गुमाउने गरेका छन ।

विश्व स्वास्थ्य संगठनका अनुसार वातावरण प्रदूषण विश्वकैलागि एक चुनौती बनेको छ । संगठनका अनुसार विश्वभरका ९० प्रतिशत जनताहरु प्रतिकुल वातावरणमा बस्ने गरेका छन ।

बेलायतको लण्डन सन् २०२५ सम्ममा कार्वनरहित सवारीसाधन चलाउने घोषणा गर्ने ३० औं शहर हो । यस्तै ओस्लो, म्याड्रिड र मेक्सिको सिटीलगायतका शहरहरुले भने आफ्ना सडकमा विद्युतिय सवारीसाधनको परीक्षणको सुरुवात गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्