काठमाडौं । बेलायती संसद ‘हाउस अफ कमन्स’मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुन छलफल गर्ने भएको छ ।
बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जीटका बारेमा ल्याएका प्रस्ताव दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली यूनियनबीचको सम्बन्धमा तनाबको अवस्था सिर्जना भएको छ ।
युरोपेली यूनियनबाट बेलायतको बहिर्गमनको अन्तिम मिति आइपुग्न अब दुई हप्ताभन्दा कम मात्र समय छ । यही वस्तुतथ्यलाई मनन गरी सांसदहरु वर्तमान गतिरोध अन्त्य गर्न फेरि संसदमा विभिन्न विकल्पमाथि मतदान गर्न लागेका हुन् ।
बेलायतमा सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जीटको पक्षमा ५२ प्रतिशतले मतदान गरेका थिए । तर ब्रेक्जीट प्रक्रियामा सांसदहरुबीच एकमत हुन सकेको छैन । बेलायती संसद र जनता नै अहिले पनि इयूबाट बेलायत बाहिरिनु पर्छ वा पर्दैन भन्नेमा विभाजित छन ।
प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियनसँग गत वर्ष नोभेम्बरमा गरेका सम्झौतालाई बेलायती संसदले अस्वीकृत गरिसकेको छ । मेको प्रस्तावमा गत मार्च २९ मै बेलायत औपचारिक रुपमा युरोपेली यूनियनबाट बाहिरिने सम्झौता भएको थियो । युरोपेली यूनियनले बेलायत सरकारको अनुरोधमा उक्त मितिलाई मे २२ सम्म थप गरेको थियो ।
प्रधानमन्त्री मेले अघि सारेका एक अर्को प्रस्तावमा संसदले ब्रेक्जीटमा सहमति जनाए आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने बताएका छन । तर यो प्रस्तावमा पनि सांसदहरुले कुनै सहमति निकाल्न सकेका छैनन् ।
यस असहमतिका बीच सरकारले अब युरोपेली यूनियनसँग आगामी अप्रिल १० सम्मको समयावधि थप गर्न समय माग्नु पर्नेछ अथवा अप्रिल १२ मा बिना कुनै सम्झौता युरोपेली यूनियनबाट बेलायत बिदा हुनु पर्नेछ । यो परिस्थितिमा बेलायतको समग्र आर्थिक परिदृश्य अस्तव्यस्त हुनेछ ।
तर मे २२ भन्दा अझ ढिलो भए बेलायतमा युरोपेली संसदका लागि अरु युरोपेली युनियनका सदस्य राष्ट्रझैं चुनाव गर्नुपर्ने विचित्र परिस्थिति सिर्जना हुनेछ ।
युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले आइतबार एक इटालेली टेलिभिजनसँग कुरा गर्दै बेलायतसँग युरोपेली यूनियनको धैर्यता टुट्दै गएको बताएका छन । ‘बेलायती मित्रहरुसँग हाम्रो गहिरो धैर्यता छ, तर त्यो धैर्यको पनि बाँध फुट्नै लागेको छ । अहिलेसम्म हामीलाई बेलायती संसदले हुन्न भनेको मात्र थाहा छ ।’ रासस–एएफपी