Logo

चीनमा विद्युतीय कार उत्पादन कारखाना खोल्दै टेस्ला, चिनियाँ बैंकबाट लियो ५२ अर्ब ऋण

चीनमा विद्युतीय कार उत्पादन कारखाना खोल्दै टेस्ला, चिनियाँ बैंकबाट लियो ५२ अर्ब ऋण



साङ्घाई । विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्ने भएको छ । उक्त कारखाना खोल्नका लागि टेस्लाले चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना साङ्घाई नजिक निर्माण गरिने कम्पनीले जानकारी दिएको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थियो । टेस्ला कम्पनी विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो ।

चीनको कारखानामा टेस्लाले मोडेल ३ का सेडान कारहरु उत्पादन गर्नेछ । प्रारम्भमा यहाँबाट सातामा ३ हजार कार उत्पादन हुनेछन् भने वार्षिक पाँच लाख थान कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । कार उत्पादन यसै वर्षको अन्त्यदेखि हुनेछ ।

टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले गत जनवरीमा चीनको भ्रमण गरेका थिए । चीनमा रहँदा उनले कार उत्पादन कारखाना स्थापना र सञ्चालनका लागि स्थानीय चिनियाँ बैंकहरुसँग पूँजीका लागि छलफल गरेका थिए ।

टेस्लाले चिनियाँ औद्योगिक तथा बाणिज्य बैंक, चाइनिज कन्स्ट्रक्सन बैंक, कृषि बैंक र शाङ्घाई पुदोङ विकास बैंकबाट ५२ करोड १० लाख डलर ऋण रकम प्राप्त गरेको छ ।

टेस्लाको उक्त घोषणासँगै न्यूयोर्क सेयर बजारमा दुई प्रतिशतभन्दा बढीले सेयर कारोबार भएको छ ।

चीन विश्वकै सबैभन्दा ठूलो कार बजार हो र वर्षौंदेखि कारको बिक्री निरन्तर बढ्दो छ । तर सन् २०१८ मा २ दशलमव ८ प्रतिशतले कार बिक्री घटेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

विद्युतीय कारको बिक्रीमा भने निरन्तर सुधार आएको छ । गत वर्ष विद्युतीय सवारी साधनको बिक्रीमा ६२ प्रतिशतले वृद्धि भएको छ ।

चीनमा विद्युतीय कार उत्पादनमा बीएआईसी, बीवाईडी र जोट्ये पनि अग्रणी स्थानमा छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्