काठमाडौं । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका छन ।
दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २ प्रहरी सहित १९ जनाको मृत्यु भएको छ भने प्रदर्शनका क्रममा २ सय १९ जना सर्वसाधारण घाईते भएको सुडान सरकारले जानकारी दिएको छ ।
सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा १ सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिएका छन । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन ।
गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कफ्र्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा समेत माग गरेका छन ।
सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी १ सुडानी पाउन्डबाट ३ पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन ।