Logo

ट्रम्पको कर नीतिको शिकार भए मस्क : चीनमा टेस्लाका दुई मोडलको बिक्री बन्द, सम्पत्ति १२१ अर्ब डलरले घट्यो

ट्रम्पको कर नीतिको शिकार भए मस्क : चीनमा टेस्लाका दुई मोडलको बिक्री बन्द, सम्पत्ति १२१ अर्ब डलरले घट्यो



काठमाडौँ । अर्बपति अमेरिकी व्यापारी एलन मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको भन्सार करको शिकार बनेका छन् । अमेरिकाले चीनलाई १४५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेपछि जवाफमा चीनले अमेरिकी उत्पादनमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । अमेरिका र चीनबीचको यो कर युद्धका बीच मस्कले टेस्लाका दुई मोडलका कारहरूको चीनमा बिक्री रोकेका छन् ।

यी दुवै मोडेलहरू प्रिमियम कारहरू हुन्, जसको नाम मोडेल एस र मोडेल एक्स हो । यी दुवै मोडेलहरू अमेरिकाको क्यालिफोर्निया प्लान्टमा उत्पादन गरिन्छन् । चीनमा टेस्लाको वेबसाइटले शुक्रबार दुवै मोडेलको अर्डर विकल्प हटाएको छ ।

यद्यपि कम्पनीले आधिकारिक रूपमा यसको कारण बताएको छैन । यसको पछाडि अमेरिकी सामानहरूमा चीनले लगाएको कर कारण मानिन्छ । रिपोर्टका अनुसार चीनमा यी मोडेलहरूको बिक्री पहिले नै सीमित थियो, किनभने यी दुवै महँगा मोडेलहरू हुन् ।

ट्रम्प राष्ट्रपति बनेदेखि अप्रिल १० सम्ममा पटक पटक गरेर उनले चीनमाथि १४५ प्रतिशत अतिरिक्त कर लगाएका छन् । यसको जवाफमा, चीनले पनि कारबाही गरेको छ र अमेरिकी सामानहरूमा १२५ प्रतिशत कर पुर्याएको छ । अप्रिल २ मा, ट्रम्पले चीन र भारत सहित ६० देशहरूमा पारस्परिक करको घोषणा गरे । त्यसपछि ट्रम्पले चीनको ६७ प्रतिशत करको जवाफमा ३४ प्रतिशत कर लगाए । चीनले अमेरिकामाथि थप ३४ प्रतिशत कर लगाएर बदला लियो। त्यसबेलादेखि, दुवै देशले दुई पटक कर बढाउने क्रम जारी रहेको छ ।

अर्कोतर्फ, ट्रम्पले अप्रिल १० मा पारस्परिक करमा ९० दिनका लागि रोकेका छन् । यद्यपि, ट्रम्पले चीनमाथि लगाइएको कर रोकेका छैनन् । जसका कारण दुई देशबीच व्यापार युद्ध सुरु भएको छ ।

२०२५ मा मस्कको सम्पत्ति १२१ अर्ब डलरले घट्यो

टेस्लाका सीईओ मस्कले राष्ट्रपति ट्रम्पको साथ दिएर ठुलो मुल्य चुकाइरहेका छन् । मस्कले २०२५ मा मात्र १२१ अर्ब डलर सम्पत्ति गुमाएका छन् । अर्बपतिहरूको सम्पत्ति अपडेट गर्ने ब्लूमबर्गको सूचकांकका अनुसार, विश्वका शीर्ष १० अर्बपतिहरूमध्ये मस्कको सम्पत्तिमा सबैभन्दा ठूलो गिरावट आएको छ ।
अप्रिल १० मा शेयर बजार बन्द हुँदासम्म मस्कको कुल सम्पत्ति ३११ अर्ब डलर रहेको थियो ।

टेस्लाले अमेरिका बाहिर आफ्नो पहिलो कारखाना चीनमा २०२० मा सुरु गरेको थियो । यो कारखानाको नाम सांघाई गिगाफ्याक्ट्री हो । टेस्लाले यहाँ आफ्नो मोडेल एक्स र वाई उत्पादन गर्छ । यहाँ उत्पादन भएका कारहरू चीन र अन्य देशहरूमा बेचिन्छन् । सांघाईमा रहेको यो टेस्ला कारखाना धेरै विशेष मानिन्छ । टेस्लालाई कुनै स्थानीय साझेदार बिना नै चीनमा कारखाना खोल्न स्वीकृति दिइएको थियो । चीनले यसरी अनुमति दिएको पहिलो पटक हो । मस्कको चिनियाँ नेताहरूसँग पहुँच रहेको बताइन्छ । न्युयोर्क टाइम्स को रिपोर्ट अनुसार, उनको सांघाईका पूर्व मेयर र चीनका वर्तमान प्रधानमन्त्री ली केकियाङसँग घनिष्ठ सम्बन्ध रहेको छ ।

मस्कले चीनसँग ट्रम्पको कर युद्धको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, मिडिया रिपोर्टमा मस्कले ट्रम्पसँग यो विषयमा अनौपचारिक रूपमा छलफल गरेको बताइएको छ । मस्कको ह्वाइट हाउसका सल्लाहकार पिटर नावारोसँग सार्वजनिक रूपमा पनि विवाद भएको छ । पिटर नभारो ट्रम्पका प्रमुख व्यापार नीति रणनीतिकारहरू मध्ये एक हुन् ।

प्रतिक्रिया दिनुहोस्