काठमाडौं । म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा एक हजार २ जनाको मृत्यु भएको पुष्टि भएको सैन्य नेतालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पमा परी २३ सय बढी घाइते भएको समाचारमा उल्लेख छ ।
म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन् । भूकम्पको केन्द्रविन्दुको सबैभन्दा नजिकको शहर मण्डलेमा ६९४ जनाको मृत्यु भएको छ । राजधानी नेपिडाउमा ९४ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ७.७ थियो । छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । थाइल्याण्डमा गएको भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने १०० जना कामदार बेपत्ता भएको समाचारमा उल्लेख छ ।
भूकम्पबाट सयौं माइल टाढा थाइल्याण्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भत्किएको थियो । अझै धेरै कामदार यसमा फसेको हुनसक्ने आशंका छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि दोस्रो भूकम्प गएको थियो । दोस्रो भूकम्पको तीव्रता ६ दशमलव ४ थियो । भूकम्पको केन्द्रबिन्दु सागिङदेखि १८ किलोमिटर दक्षिणमा थियो ।
म्यानमारको दोस्रो ठूलो शहर मण्डलेका एक उद्धारकर्मीले भूकम्पले ठूलो क्षति पुर्याएको र सयौं मानिसको ज्यान गएको आशंका गरिएको छ । समाचार एजेन्सी एपीका अनुसार अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले भूकम्पको केन्द्रबिन्दु म्यानमार रहेको बताएको छ ।
एजेन्सीका अनुसार थाइल्याण्डको राजधानी बैंककमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । त्यहाँका धेरै भवनहरू खाली गराइएको छ । म्यानमारको ठूलो भागमा आपतकाल घोषणा गरिएको छ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा समेत भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको बताइएको छ । एजेन्सी