Logo

विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ : प्रतिवेदन

विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ : प्रतिवेदन



काठमाडौं । विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको मङ्गलबारको एक प्रतिवेदनले पत्ता लगाएको छ ।

स्विट्जरल्यान्ड स्थित वायु गुणस्तर अनुगमन डाटाबेस आइक्युएयरले एक सय ३८ देशका ४० हजार वायु गुणस्तर अनुगमन स्टेसनबाट प्राप्त डाटा विश्लेषण गरेको थियो र चाड, कङ्गो, बङ्गलादेश, पाकिस्तान र भारतमा सबैभन्दा प्रदूषित हावा रहेको पत्ता लगाएको थियो ।

भारतमा नौ सबैभन्दा प्रदूषित सहरहरू मध्ये छ वटा छन् । तीमध्ये उत्तरपूर्वी भारतको औद्योगिक सहर बिरनिहाट सबैभन्दा खराब स्थानमा छ ।

विशेषज्ञहरूका अनुसार वास्तविक वायु प्रदूषणको मात्रा धेरै बढी हुनसक्छ किनकि विश्वका धेरै भागमा अधिक सटीक डाटाका लागि आवश्यक अनुगमन छैन । उदाहरणका लागि अफ्रिकामा प्रत्येक ३७ लाख मानिसका लागि केवल एउटा अनुगमन स्टेसन छ ।

प्रतिवेदनअनुसार यस समस्याको सामना गर्न थप वायु गुणस्तर अनुगमनकर्ताहरू स्थापित गरिँदैछन् । यस वर्ष प्रतिवेदनका लेखकहरूले वायु प्रदूषणको राम्रो अनुगमन गर्ने प्रयासको परिणामस्वरूप आठ हजार नौ सय ५४ नयाँ स्थान र लगभग एक हजार नयाँ अनुगमनकर्ताबाट प्राप्त डाटा समावेश गर्न सक्षम भए ।

तर गत हप्ता अमेरिकी विदेश मन्त्रालयले विश्वभरका आफ्ना दूतावास र वाणिज्य दूतावासहरूबाट प्राप्त डाटा सार्वजनिक नगर्ने घोषणा गरेपछि वायु प्रदूषणका लागि डाटा अनुगमनलाई धक्का लागेको छ ।

मलेसिया स्थित सनवे सेन्टर फर प्लानेटरी हेल्थकी मुख्य वैज्ञानिक तथा वायु प्रदूषण विशेषज्ञ फातिमा अहमदका अनुसार लामो समयसम्म प्रदूषित हावा सास फेर्नाले श्वासप्रश्वाससम्बन्धी रोग, अल्जाइमर्स र क्यान्सर हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वायु प्रदूषणले वार्षिक रूपमा लगभग ७० लाख मानिसको ज्यान लिने अनुमान गरेको छ ।

अहमदले वायु प्रदूषणको स्तर घटाउन अझ धेरै गर्न आवश्यक रहेको बताए । डब्लुएचओले विश्वको ९९ प्रतिशत जनसङ्ख्या सिफारिस गरिएको वायु गुणस्तर स्तर पूरा नगर्ने ठाउँमा बसोबास गर्ने गरेको पाएको थियो ।

‘यदि तपाईंसँग खराब पानी छ, पानी नै छैन भने, तपाईं मानिसहरूलाई दिनको आधा घण्टा पर्खनू भन्न सक्नुहुन्छ, पानी आउनेछ । तर यदि तपाईंसँग प्रदूषित हावा छ भने, तपाईं मानिसहरूलाई सास फेर्न रोक्नू भन्न सक्नुहुन्न’, अहमदले भने ।

बेइजिङ, दक्षिण कोरियाको सियोल र पोल्यान्डको रिबनिक जस्ता धेरै सहरले सवारी साधन, बिजुली प्लान्ट र उद्योगहरूबाट हुने प्रदूषणमा कडा नियमहरू मार्फत आफ्नो वायु गुणस्तर सफलतापूर्वक सुधार गरेका छन् । उनीहरूले स्वच्छ ऊर्जालाई प्रवद्र्धन गरेका छन् र सार्वजनिक यातायातमा लगानी गरेका छन् ।

गम्भीर वायु प्रदूषण नियन्त्रण गर्ने अर्को उल्लेखनीय प्रयास दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घको सीमापार धुवाँ प्रदूषणसम्बन्धी सम्झौता थियो । यद्यपि यसले अहिलेसम्म सीमित सफलता पाए पनि यस क्षेत्रका दश देशले ठूला वन डढेलोहरूबाट हुने प्रदूषणको अनुगमन र नियन्त्रण गर्न एकसाथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । वन डढेलो सुक्खा मौसममा यस क्षेत्रमा सामान्य घटना हो ।

ग्लोबल क्लाइमेट एन्ड हेल्थ एलायन्सको अभियानको नेतृत्व गर्ने श्वेता नारायणले सबैभन्दा खराब वायु प्रदूषणको सामना गर्ने धेरै क्षेत्रहरू पनि कोइला, तेल र ग्यास जलाएर पृथ्वी–तताउने ग्यासहरू व्यापक रूपमा निस्कने ठाउँहरू हुन् भने । पृथ्वीको तापक्रम कम गर्न पृथ्वी–तापन उत्सर्जन कम गर्दा वायु गुणस्तर पनि सुधार गर्न सकिने उनले बताए ।

‘वायु प्रदूषण र जलवायु सङ्कट एउटै सिक्काका दुई पाटा हुन्’, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्