काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि ट्रम्पले यस्तो निर्णय गरेका हुन् ।
किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ । यो खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले लेखेको हो ।
ब्लुमबर्गको रिपोर्टमा भनिएको छ, ‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दै छ ।’ यस विषयमा अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।
ब्लुमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ । यसमा पोल्यान्ड पुगेका सामान पनि पर्छन्। गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहस भएको थियो । सोमबार मात्रै ट्रम्पले भोलि ठूलो रात हुने घोषणा गरेका थिए ।
गत शुक्रबार खनिज सम्झौताका लागि भनेर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए । तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्यो । लगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए । जहाँ आइतबार युरोपेली देशका नेताहरूको बैठक भयो । त्यसपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी पनि गरेका थिए ।