काठमाडौँ । विश्वभरका अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएड) का कर्मचारीहरूलाई अमेरिका फर्किन आदेश दिइएको छ । युएसएडको वेभसाइटमा राखिएको एक सुचनामा शुक्रबार रातिदेखि मिसनका महत्वपूर्ण कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूको लागि जिम्मेवार तोकिएका कर्मचारीहरू बाहेक, सबै युएसएडका कर्मचारीहरूलाई विश्वव्यापी रूपमा प्रशासनिक बिदामा राखिने उल्लेख छ ।
विज्ञप्तिमा संयुक्त राज्य अमेरिका बाहिर पोस्ट गरिएका कर्मचारीहरूको लागि योजना तयार गरिरहेको उल्लेख गर्दै एजेन्सीले ३० दिन भित्र संयुक्त राज्य अमेरिका फर्कने यात्राको व्यवस्था गर्ने र भुक्तानी गर्ने बताएको छ । साथै आवश्यक नभएका कर्मचारीहरुसँग सम्झौता समाप्त गर्ने सूचनामा उल्लेख छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी अमेरिकी सहयोग एजेन्सी (युएसएड) बन्द गर्ने तयारी गरिरहेका छन् । ट्रम्पले युएसएड बन्द गर्ने निर्णयको विरोधमा डेमोक्रेटिक पार्टीका सांसदहरु विरोधमा उत्रिएका छन् । उनीहरुले युएसएडको मुख्यालय बाहिर प्रदर्शन समेत गरेका छन् । ट्रम्प प्रशासनले एजेन्सीको ठूलो खर्च अमेरिकाको लागि राम्रो नभएको भन्दै एजेन्सी बन्द गर्ने तर्क गरिरहेका छन् ।
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएड) संयुक्त राज्य अमेरिका सरकारको एक स्वतन्त्र एजेन्सी हो । यो १९६१ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीद्वारा स्थापित भएको थियो । यो एजेन्सीले नागरिक वैदेशिक सहायता र विकास सहायताको प्रशासनको निरीक्षण गर्दछ । यस संस्थाको उद्देश्य विश्वव्यापी स्वास्थ्य, आर्थिक विकास, प्रकोप र लोकतान्त्रिक सुधारका मुद्दाहरूमा काम गर्नु हो । यो एजेन्सी हाल १०० भन्दा बढी देशहरूमा सञ्चालनमा छ । यस एजेन्सीले विश्वव्यापी रूपमा मानवीय संकटहरूलाई कम गर्न मद्दत गरेर प्रायः अमेरिकी विदेश नीतिलाई अगाडि बढाउने गर्दछ । २०२३ मा युएसएडले ४० बिलियन डलर बजेट खर्च गरेको थियो ।