Logo

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना, उडान भरेको ३० सेकेण्डमै विमान घरमाथि खस्यो

अमेरिकामा फेरि अर्को जहाज दुर्घटना, उडान भरेको ३० सेकेण्डमै विमान घरमाथि खस्यो



काठमाडौं । अमेरिकाको फेलाडेल्फियामा फेरि अर्को जहाज दुर्घटनामा परेको छ । पेन्सिल्भेनिया राज्यको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको हो ।

फक्स न्यूजका अनुसार ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ । फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक यो विमान स्थानीय समयअनुसार साँझ ६ः३० बजे उडान भरेको ३० सेकेन्डमै ६.४ किलोमिटर टाढा दुर्घटनामा परेको हो ।

एएफपीका अनुसार विमान घरमाथि खसेको थियो । जहाँ आगो लागेको थियो । घनाबस्ती भएको क्षेत्रमा उक्त विमान खसेको हो । यसअघि गत बुधबारमात्रै वाशिङ्टन डीसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर आपसमा ठोक्किँदा सबै ६७ जनाको मृत्यु भएको अनुमान गरिएको छ । पोटोम्याक नदीमा खसेका जहाज र हेलिकप्टरबाट अहिलेसम्म ४० जनाको मात्र शव फेला परेको छ । स्थानीय सरकारले सबैको मृत्यु भएको अनुमान गरेको छ । जहाजमा चार चालक दलका सदस्यसँगै ६४ यात्रु तथा हेलिकप्टरमा ३ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्