काठमाडौं । श्रीलङ्काले सन् १९९० देखि सन् २०२३ सम्म ५ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १७९ आर्थिक रूपमा बन्द सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनाहरू कार्यान्वयन गरेको छ ।
एसियाली विकास बैङ्क (एडीबी) को पछिल्लो प्रकाशन प्रतिवेदनमा यी परियोजनाहरूमध्ये अधिकांश विद्युत र बन्दरगाह क्षेत्रमा केन्द्रित रहेका उल्लेख गरिएको छ । कुल एक सय ६२ आयोजना विद्युतसँग सम्बन्धित थिए भने पाँचवटा बन्दरगाहमा केन्द्रित थिए, जुन निजी क्षेत्रको सहभागिताका लागि प्रमुख क्षेत्र बनेका छन् ।
एडीबीका अनुसार, पीपीपीले बन्दरगाह सञ्चालनको गुणस्तर र दक्षता बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ । पीपीपी मार्फत विकसित टर्मिनलहरूले अहिले देशको पोर्टको लगभग ७० प्रतिशत कार्य गरिरहेको छ । श्रीलङ्काको लगभग २५ प्रतिशत बिजुली हाल पीपीपी परियोजनाहरू मार्फत उत्पादन गरिन्छ । एडीबीले श्रीलङ्कामा आर्थिक रूपमा बन्द भएका पीपीपी परियोजनाहरूमध्ये अधिकांश सक्रिय रहेको र तीनवटा मात्र परियोजनाहरू रद्द भएको देखाएको छ ।