Logo

प्रधानमन्त्रीको चीन भ्रमण : टोखा छहरे सुरुङमार्ग निर्माणदेखि भैसीको मासु निर्यातसम्मका सम्झौता

प्रधानमन्त्रीको चीन भ्रमण : टोखा छहरे सुरुङमार्ग निर्माणदेखि भैसीको मासु निर्यातसम्मका सम्झौता



काठमाडौं । ४ दिने चीन भ्रमणमा गएको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच आजै विभिन्न ९ बुँदामा सम्झौता भएका छन् । खासगरी नेपाल र चीनबीचको व्यापार प्रवर्द्धनसँगै दुई देशबीच सहयोग आदानप्रदानलाई प्राथमिकतामा राख्दै उक्त सम्झौताहरु भएका छन् ।

यी सम्झौताहरुमध्ये टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान भएको बताईएको छ । खासगरी नेपाल र चीनबीच लामो समयदेखि काठमाडौंलाई चीनसँग व्यापारीक मार्गमार्फत जोड्नका लागि सुरुङ परियोजना अघि बढाउने कुरा चलेको भएपनि यसमा सम्झौताको ब्रेकथ्रु हुन सकेको थिएन । यसपल्ट प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको दोस्रो दिन नै उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीबीच नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, बसन्तपुर दरबार पुनर्निर्माण, फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकललगायतमा हस्ताक्षर भएको छ ।

नेपालले चीनतर्फ भैसीको मासु केहि हदसम्म पठाउँदै आएको भएपनि बेलाबेलामा यसमा लेबलिङ, प्याकेज्ड र गुणस्तरमा प्रस्न उठ्ने गरेको छ । सोही कुराहरुलाई मध्येनजर गर्दै अब नेपालबाट सहजै चिनियाँ बजारमा भैसीको मासु निर्यातसम्बन्धी सम्झौता गरिएको हो ।

यी सम्झौतासँगै प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीच विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान भएको हो ।

प्रतिक्रिया दिनुहोस्