काठमाडौं । अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलो अन्तर्वार्तामा आप्रवासनको क्षेत्रमा कठोर नीति अपनाउने योजना अघि बढाउने बताएका छन्। एनबीसी न्यूजसँगको कुराकानीमा उनले आप्रवासी नियन्त्रणलाई आफ्नो प्रशासनको प्रमुख प्राथमिकतामा राख्ने र अवैध आप्रवासीलाई ठूलो संख्यामा देशबाट बाहिर पठाउने योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। चुनावी अभियानमा, उनले अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने, र देशबाट निष्कासन गर्ने योजना, जसलाई ‘मास डिपोर्टेसन प्लान्स’ भनिएको थियो, अघि सारेका थिए।
उनका अनुसार, यस योजनाले सीमा नियन्त्रणलाई थप बलियो र शक्तिशाली बनाउनेछ, जसबाट अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई रोक लगाउन सकिन्छ। उनले अवैध आप्रवासनलाई मुख्य मुद्दा बनाउँदै आफ्नो जित हासिल गरेको दाबी गरेका छन्। ट्रम्पको भनाइमा, उनको आप्रवासन नीति तथा सीमा नियन्त्रणमा गरिएको कडा प्रतिबद्धता कारण मतदाताहरूमा विशेष आकर्षण सिर्जना भएको थियो, जसले विभिन्न तहका मतदाताहरूलाई आकर्षित गर्यो।
ट्रम्पले उनी वैध आप्रवासनको पक्षमा भएको र अमेरिकालाई मानिसहरूलाई स्वागत गर्न तयार वातावरण दिन चाहने बताउँछन् । उनका अनुसार, वैध तरिकाबाट अमेरिका आउने आप्रवासीलाई स्वागत गरिनेछ, तर अपराधमा संलग्न वा अवैध रूपमा आएका मानिसहरूलाई निष्कासन गर्नमा कुनै सम्झौता गरिनेछैन।