Logo

आफ्ना राजदूतमाथि क्यानडाले अनुसन्धान गरिरहेको भन्दै भारतको असन्तुष्टि

आफ्ना राजदूतमाथि क्यानडाले अनुसन्धान गरिरहेको भन्दै भारतको असन्तुष्टि



काठमाडौं । गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ ।

सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचर निकायलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ लागेको बताएपछि भारतसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्यानडाबाट जारी अनुसन्धानमा भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू घटनामा संलग्न रहेको आशङ्काको घेरामा राखिएको भनेर कूटनीतिक पत्र प्राप्त भएको छ ।’

सन् १९९७ मा क्यानडामा बसाइँ सरेर सन् २०१५ मा नागरिकता लिएका निज्जरले भारतबाट अलग्गिएर खालिस्तान नामको छुट्टै सिख राज्य हुनुपर्ने पक्षमा वकालत गरेका थिए । उनलाई भारतीय अधिकारीहरूले आतङ्कवाद र हत्याको षडयन्त्र गरेको आरोपमा ‘अत्यधिक खोजीको सूची’ मा राखेर खोजी गरिरहेको थियो ।

सन् २०२३ को जुन महिनामा भ्यानकुभरको एक सिख मन्दिरको पार्किङस्थलमा भएको निज्जरको हत्यामा संलग्न भएको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । भारतले हत्यासँग जोडिएको आरोपलाई ‘निरर्थक’ र ‘राजनीतिक लाभका लागि भारतलाई बदनाम गर्ने रणनीति’ भनेको छ ।

गत वर्ष भारतले क्यानाडाका नागरिकहरूको भिसामा केही समयका लागि रोक लगाएको थियो र ओटावालाई कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउन बाध्य पारेको थियो । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘भारतीय कुटनीतिज्ञविरुद्ध आरोप लगाउने क्यानडा सरकारको पछिल्लो प्रयासको जवाफमा भारतलाई थप कदम चाल्ने अधिकार सुरक्षित छ ।’

क्यानडामा करिब सात लाख ७० हजार शिखहरू बसोबास गर्छन् र यो क्यानडाको जनसंख्याको लगभग दुई प्रतिशत हिस्सा हो । सन् २०२३ को नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक रिपब्लिकमा बस्दै आएका एक भारतीय नागरिकमाथि पनि अमेरिकी भूमिमा यस्तै प्रकारको हत्याको योजना बनाएको आरोप लगाएको थियो । अभियोजकहरूले अदालतको कागजातमा उक्त योजनामा भारत सरकारका एक अधिकारीको पनि संलग्नता रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्