Logo

अफ्रिकी मुलुकमा भयावह बन्दै मंकिपक्स, डब्लूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

अफ्रिकी मुलुकमा भयावह बन्दै मंकिपक्स, डब्लूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा



काठमाडौं । अफ्रिकी मुलुकमा मंकिपक्सले भयावह रुप लिएको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का अनुसार यस वर्ष अफ्रिकी महादेशमा १७ भन्दा बढीमा यो संक्रमण देखिएको छ । हालसम्म ५१७ जनाको मृत्यु भएको बताइएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमण १६० प्रतिशतले वृद्धि भएको छ । १३ वटा देशमा मंकिपक्सका संक्रमित भेटिएको पुष्टि भएको छ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकी मुलुकमा मंकिपक्सको संक्रमण बढ्दै गएपछि बुधबार मंकिपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । दुई वर्षको अन्तरालमा दोस्रो पटक यो रोगलाई स्वास्थ्य आपतकाल घोषणा गरिएको हो । कंगोमा यो रोगको प्रकोप देखिएको थियो, जसका कारण छिमेकी देश पनि प्रभावित भएका छन् ।

मंकिपक्स स्मलपक्सजस्तै भाइरल रोग हो। यो भाइरसको संक्रमणले सामान्यतया धेरै साइड इफेक्ट गर्दैन, तर दुर्लभ अवस्थामा यो घातक हुन सक्ने बताइएको छ । जसका कारण फ्लुजस्ता लक्षण देखिने र शरीरमा पिपले भरिएका घाउहरु देखा पर्छन् ।

मंकिपक्सका फरक-फरक लहरका क्रममा यसबाट हुने मृत्यु दर पनि फरक फरक छ । यसकारण यो अझै घातक हुनसक्ने भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । यो एक संक्रामक रोग भएकाले यो झन् खतरनाक साबित हुनसक्ने भन्दै डब्ल्यूएचओले यस सम्बन्धमा उच्च स्तरको अलर्ट जारी गरेको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यो रोगको फैलावट रोक्न र जीवन बचाउन विश्वले मिलेर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्