Logo

बंगलादेशको अन्तरिम सरकार प्रमुख युनुसले लिए शपथ, आन्दोलनको नेतृत्व गरेका विधार्थी नेता पनि बने मन्त्री

बंगलादेशको अन्तरिम सरकार प्रमुख युनुसले लिए शपथ, आन्दोलनको नेतृत्व गरेका विधार्थी नेता पनि बने मन्त्री



ढाका । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकार प्रमुखको रूपमा शपथ लिएका छन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा शपथ गराएका हुन् । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । शपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् ।

उनका लागि अब प्रमुख कार्य बंगलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौंको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौंको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्व प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए ।

अन्तरिम मन्त्रिपरिषद्मा मुख्यरूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ । यो साता विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो ।

सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा शुरू भएको धेरै साताको अराजक प्रदर्शनपछि सोमबार हसिनाले पदबाट राजीनामा गरेकी थिइन् । उनी राजीनामा दिएर देश छाडेर गएकी छन् । सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका युनुस ओलम्पिकका लागि फ्रान्सको राजधानी पेरिसमा थिए । उनी बिहीबार मात्रै कडा सुरक्षाबीच ढाका फर्किएका हुन् ।

आगमनपछिको पहिलो टिप्पणीमा उनले आफ्नो प्राथमिकता व्यवस्था पुनःस्थापना गर्नु रहेको बताएका थिए । युनुसको मन्त्रिमण्डलमा एक दर्जनभन्दा धेरै सदस्यले शपथ लिएका छन् । सल्लाहकार सदस्यहरूमा स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन ग्रुपका शीर्ष नेताहरू नाहिद इस्लाम र आसिफ महमुद छन् । उनीहरूले हप्तौं लामो विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

अन्यमा पूर्व विदेशसचिव तौहिद हुसेन र पूर्व महान्यायाधिवक्ता हसन आरिफ छन् । पुरस्कार विजेता पर्यावरण वकिल सैयदा रिजवाना हसन र कानूनका शीर्ष प्राध्यापक तथा लेखक आसिफ नजरुलले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रमुख मानवाधिकार कार्यकर्ता आदिलुर रहमान खानले पनि सल्लाहकारका रूपमा शपथ लिएका छन् । उनलाई हसिना सरकारले दुई वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्