Logo

बंगलादेशमा युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिँदै

बंगलादेशमा युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिँदै



काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले आज (बिहीबार) शपथ लिने भएको छ । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा, मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् ।

साथै उनले बंगलादेशमा ३–४ दिनभित्र पूर्णरुपमा शान्ति बहाल हुने बताएका छन् । उनले देशमा पछिल्ला दिनहरुमा लुटपाट र तोडफोडका घटनाहरुमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने बताउँदै देशमा शान्ति बहाल गर्न एयर फोर्स र नाभीले मिलेर काम गरिरहेको समेत जानकारी दिए ।

उनले अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका युनुससँग आफूले कुरा गरेको र उनको नेतृत्वमा देश छिट्टै प्रजातान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त गरेका छन् । बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले मुहम्मद युनुस आज स्वदेश फर्किएपछि आजै साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने तयारी रहेको बताएका छन् ।

‘हामी आज शपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौं । हामी करिब ८ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ’, उनले भने । युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेश आउँदा उनले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्ने सेना प्रमुख जमानले बताए ।

‘उहाँ यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ’, सेना प्रमुख जमानले भने, ‘मलाई विश्वास छ, उहाँले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौं ।’ हाल युरोपमा रहेका ८४ वर्षीय युनुस आज दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने बताइएको छ । बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।

राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो । गत सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेपछि अनिश्चित बनेको बंगलादेशको राजनीति अब विस्तारै ट्रयाकमा आउने देखिएको छ । आन्दोलनरत विद्यार्थीहरुको माग बमोजिम राष्ट्रपति मुहमद शाह्बुद्दीनले संसदको भंग गरेर नोबेल पुरस्कार विजेता डा. युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्