Logo

घरायसी खपत न्यून हुँदा चीनको विकास कमजोर, घरायसी खपत बढाउने योजना जारी

घरायसी खपत न्यून हुँदा चीनको विकास कमजोर, घरायसी खपत बढाउने योजना जारी



काठमाडौं । चीनले घरेलु खपत बढाउने उद्देश्यले निर्देशनहरूको सूची जारी गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा न्यून घरेलु खपतले विकासलाई कमजोर बनाएको छ । सूचीमा बालबालिका र वृद्धहरूको हेरचाह तथा खाद्यान्न र पेय पदार्थलगायतका क्षेत्रलाई लक्षित गरिएको छ ।

सत्तारूढ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूको भेलापछि राष्ट्रपति सी जिनपिङलगायतका नेताहरूले गत महिना घरेलु खपत बढाउन र चीनको कमजोर रियल स्टेट क्षेत्रमा दबाब कम गर्न सहयोग गर्ने वाचा गर्नुभएको थियो ।

चीनको मन्त्रिपरिषद् अर्थात स्टेट काउन्सिलले शनिबार साँझ आफ्नो वेबसाइटमा २० वटा सामान्य निर्देशनहरूको सूची प्रकाशित गरेको थियो ।

प्रस्तावित बजेट समावेश नभएको योजनाले अधिकारीहरूलाई ‘वृद्धहरूका लागि हेरचाह सेवाहरूको आपूर्ति बढाउन’ आग्रह गरेको छ । शिक्षाको उच्च लागत र सामाजिक लाभहरूको अभावका कारण थोरै युवाहरूले बच्चा जन्माउने विकल्प छनोट गर्ने भएकाले योजनाले बालबालिका हेरचाह सेवाहरूको विकासको पनि आह्वान गरेको छ ।

दस्तावेजअनुसार तीन वर्षभन्दा मुनिका बालबालिका र ज्येष्ठ नागरिकहरूको हेरचाहको लागतलाई पनि आयकरमा कटौतीको योजना बनाइएको छ ।

बेइजिङले सेवा क्षेत्रमा विशेषगरी बैंकहरूबाट योग्य साना व्यवसायहरूले ठूलो आर्थिक सहायताबाट लाभ हासिल गर्न सक्ने कुरा सुनिश्चित गर्ने वाचा गरेको छ ।

गत महिना प्रकाशित आधिकारिक तथ्याङ्कअनुसार चीनले यस वर्ष ‘करिब पाँच प्रतिशत’ कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० वृद्धिको लक्ष्य राखेको छ । यद्यपि दोस्रो त्रैमासिकमा उसको वृद्धि वार्षिक आधारमा द्रुतरूपमा घटेर चार दशमलव सात प्रतिशत भएको छ ।

रियल स्टेटमा लामो समयदेखि जारी ऋण सङ्कटले जिडिपी वृद्धि प्रभावित भएको छ । रियल स्टेट क्षेत्र जिडिपीको एक चौथाई हिस्सा हो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL