Logo

इथियोपियामा भीषण पहिरो : अहिलेसम्म २२९ जनाको शव निकालियो

इथियोपियामा भीषण पहिरो : अहिलेसम्म २२९ जनाको शव निकालियो



काठमाडौं । इथियोपियामा भीषण वर्षापछि गएको पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । पहिरोमा परी हालसम्म कम्तिमा २२९ जनाको मृत्यु भएको छ । इथियोपियाको गोफाको पहाडी क्षेत्रमा भारी वर्षापछि पहिरो गएको थियो । आइतबार साँझ र सोमबार बिहान गएको पहिरोले यति ठूलो मानवीय क्षति गरेको हो ।

एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उक्त पहिरोमा पुरिएकामध्ये २२९ जनाको शव निकालिएको समाचार प्रकाशित गरेको छ । मृत्यु हुनेमा बालबालिका र वयस्क छन् । गोफा क्षेत्रका प्रशासक दग्मावी अयेलाई उद्धृत गर्दै बीबीसीले १० जनालाई जीवितै उद्धार गरिएको जनाएको छ । उनीहरूलाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको छ ।

दग्मावीका अनुसार भारी वर्षाका कारण आइतबार पहिरो गएको थियो । आइतबार गएको पहिरोमा परेकाहरूको उद्धार तथा खोजका लागि सोमबार प्रहरी पुगे लगत्तै फेरि अर्को पहिरो गएको थियो । जसका कारण खोज तथा उद्धारमा जुटेकाहरू पनि पहिरोमा पुरिएका थिए ।

दग्मावीले अहिले पहिरो पन्छाएर खोजी कार्यलाई तीव्रता दिइएको बताएका छन् । स्थानीय प्रशासनले जीवितै उद्धारको प्रयास भइरहेको बताएको छ । तर, मृतकको संख्या अझ बढ्न सक्ने पनि अनुमान गरिएको छ । गोफा दक्षिण इथियोपिया राज्यमा पर्छ । यो क्षेत्र राजधानी अदिस अबाबाबाट करिब ३२० किलोमिटर दक्षिणमा पर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL