काठमाडौं । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तरराष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैङ्कको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिकको तथ्याङ्क रहेका समाचार एजेन्सी बीएसएसले सोमबार रिपोर्ट गरेको छ ।
यसैबीच, चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्कमा आधारित अनुमानअनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको दुई हजार सात सय ४९ डलरबाट बढेर चालु आर्थिक वर्षमा २ हजार सात सय ८४ डलर पुगेको छ ।
हालको मूल्यमा बङ्लादेशको जीडिपी चार सय ५९ अर्ब डलर रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा चार सय ५२ अर्ब डलर थियो ।
तथ्याङ्कले कृषि र उद्योगमा कमी देखाएको भने सेवामा थोरै वृद्धि भएको देखाएको छ ।रासस