Logo

देश आर्थिक संकटमा रहेको भन्दै पाकिस्तानी राष्ट्रपति र गृहमन्त्रीले गरे तलब नलिने घोषणा, नेपालमा कसैले गर्ला यस्तो त्याग ?

देश आर्थिक संकटमा रहेको भन्दै पाकिस्तानी राष्ट्रपति र गृहमन्त्रीले गरे तलब नलिने घोषणा, नेपालमा कसैले गर्ला यस्तो त्याग ?



काठमाडौं । आर्थिक संकट झेलिरहेको पाकिस्तानका नयाँ राष्ट्रपति आसिफ अली जरदारीले आफ्नो कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने घोषणा गरेका छन् । आइतबार पद तथा गोपनियताको पथ लिएका राष्ट्रपति जरदारीले मंगलबार यस्तो घोषणा गरेका हुन् ।

जरदारीले देश आर्थिक संकटमा रहेकाले पनि यस्तो निणर्य गरेको उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ट्विटर (एक्स) मार्फत यस्तो जानकारी दिएको छ । राष्ट्रिय कोषमा भार नपार्ने उद्देश्यले राष्ट्रपतिले आफ्नो पारिश्रमिक त्यागेको बताइएको छ ।

यो उल्लेखनीय छ कि पूर्व राष्ट्रपति आरिफ अल्वीले प्रतिमहिना ८ लाख ४६ हजार ५ सय ५० रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका थिए । राष्ट्रपतिको तलब सुविधा संसदले पारित गर्ने प्रचलन छ । पाकिस्तानमा सन् २०१८ देखि उक्त सुविधा राष्ट्रपतिले पाउँदै आएका थिए ।

जरदारी पाकिस्तानका सबैभन्दा धनी राजनीतिज्ञमध्ये एक हुन् । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सह–अध्यक्ष आसिफ अली जर्दारीले आइतबार पाकिस्तानको १४औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका थिए । इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले जरदारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सैन्य शासकहरूलाई छोडेर, जरदारी दोस्रोपटक राष्ट्र प्रमुखको पद ग्रहण गर्ने पाकिस्तानको पहिलो नेता बनेका छन् । यसअघि उनले सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति पद सम्हालेका थिए । यस्तै, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले पनि आफ्नो तलब छोड्ने निणर्य गरेका छन् । नकवीले देशले सामना गरिरहेको आर्थिक चुनौतीलाई पनि यसको कारण बताए ।

पाकिस्तानका नेताहरुले यस्तो घोषणा गरिरहँदा नेपालमा भने कुनै पनि नेताले यस्तो त्याग गर्ने हिम्मत गर्लान त भन्ने आम जनताको जिज्ञासा रहेको छ । नेपाल अहिले नै आर्थिक संकटमा परि नसकेको सरकारले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्