Logo

सन् २०२४ मा युक्रेनलाई चार अर्ब २० करोड अमेरिकी डलर चाहिने, सयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

सन् २०२४ मा युक्रेनलाई चार अर्ब २० करोड अमेरिकी डलर चाहिने, सयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह



काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन र युद्धग्रस्त मुलुकबाट भागेका लाखौं शरणार्थीलाई सहयोग गर्न चार अर्ब २० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

गाजा युद्धले हालैका महिनाहरूमा चर्चा बटुलेको छ भने फेब्रुअरीमा युक्रेन–रूस युद्ध तेस्रो वर्षमा प्रवेश गर्नेछ । संयुक्त राष्ट्रसङ्घले युक्रेनमा ८५ लाख मानिस र पूर्वी युरोपमा २३ लाख शरणार्थी र तिनका सहयोगी समुदायसम्म पुग्ने अपेक्षा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले भनेको छ, ‘हालैको आक्रमणले युद्धको विनाशकारी नागरिक लागतलाई उजागर गरेको छ भने कठाङ्ग्रिँदो जाडोले मानवीय सहायताको तत्काल आवश्यकतालाई जोड दिइरहेको छ ।’

सन् २०२२ को फेब्रुअरीमा भएको रूसी आक्रमण दोस्रो विश्वयुद्धपछि युरोपेली मुलुकमाथिको सबैभन्दा ठूलो आक्रमण र यसका कारण निम्तिएको शरणार्थी सङ्कट सन् १९३९ देखि सन् १९४५ को द्वन्द्वपछि महाद्वीपले सामना गर्नुपरेको सबैभन्दा ठूलो शरणार्थी सङ्कट बनेको छ ।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष युक्रेनमा एक करोड ४६ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता पर्ने बताएको छ । यो युक्रेनी जनसङ्ख्याको ४० प्रतिशत हो ।

संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लाखौं बालबालिका युद्धको अग्रपङ्क्तिमा रहेका समुदायमा बस्छन् र उनीहरू युद्धका कारण त्रसित भएका, आघातमा परेका र आफ्ना आधारभूत आवश्यकताबाट वञ्चित भएका छन् ।

ग्रिफिथ्सले भने, ‘यो तथ्यले मात्र हामीलाई युक्रेनमा थप मानवीय सहायता ल्याउन सक्दो प्रयास गर्न बाध्य पार्नुपर्छ ।’

उनले थपे, ‘घर, विद्यालय र अस्पतालहरू पानी, ग्याँस र बिजुली प्रणालीहरू जस्तै बारम्बार प्रभावित हुन्छन् । समाजको संरचनामाथि नै आक्रमण भइरहेको छ र यसको विनाशकारी परिणामहरू आइरहेका छन् ।’

ग्रिफिथ्स र शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिप्पो ग्रान्डीले जेनेभास्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयमा संयुक्त पत्रकार सम्मेलनमा उक्त योजना सार्वजनिक गरेका हुन् ।

रूस–युक्रेन युद्धका कारण करिब ६३ लाख मानिस युक्रेनबाट भागेका छन् र शरणार्थीका रूपमा रहेका छन् ।

क्षेत्रीय शरणार्थी प्रतिकार्य योजनाले २३ लाख शरणार्थी र शरणार्थीलाई आश्रय दिँदै आएका सहयोगी समुदायसम्म पुग्न एक अर्ब १० करोड अमेरिकी डलर आवश्यकता रहेको उल्लेख गरेको छ ।

‘युक्रेनका लाखौं शरणार्थीलाई अझै पनि तत्काल सहयोगको खाँचो छ,’ ग्रान्डीले भने ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विद्यालय जाने उमेरका युक्रेनी शरणार्थी बालबालिकामध्ये आधा मात्र सहयोगी देशका विद्यालयमा भर्ना भएका छन् भने एक चौथाइ शरणार्थीलाई स्वास्थ्य सेवाको पहुँचका लागि संघर्ष भइरहेको छ ।

शरणार्थीमध्ये केवल ४० देखि ६० प्रतिशत मात्र रोजगारीमा छन् । उनीहरूले पाएको रोजगारी प्रायः उनीहरूको योग्यताभन्दा कम छ भने अझै पनि धेरै आफूलाई समर्थन गर्ने कुनै साधनको अभावका कारण असुरक्षित छन् ।

ग्रान्डीले भने, ‘सहयोगी देशहरूले सुरक्षा प्रदान गर्न र उनीहरूलाई समाजमा समावेश गर्ने प्रयास जारी राखेका छन्, तर धेरै कमजोर शरणार्थीहरूलाई अझै पनि मद्दतको आवश्यकता छ । उनीहरूलाई फर्कन दबाब दिनु हुँदैन किनभने उनीहरू निर्वासनमा जीवन यापन गर्न सक्दैनन् ।’

‘सबै शरणार्थीहरूलाई मद्दत गर्नुपर्दछ र उनीहरूको प्रतिभाको प्रयोग र निर्माण गर्ने अवसरहरू दिनुपर्छ । परिस्थितिले अनुमति दिएको खण्डमा उनीहरूलाई अन्तिम स्वैच्छिक फिर्तीको लागि तयार गर्न सकिन्छ ।

सन् २०२३ मा युक्रेनका लागि मानवीय सहायता योजनाले ३.९ अर्ब अमेरिकी डलर माग गरेको थियो र ६४ प्रतिशत रकम खर्च गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले विशेषगरी रूसी सेनाले कब्जा गरेको क्षेत्रमा पहुँच चुनौतीका बावजुद सन् २०२३ मा युक्रेनमा एक करोड पाँच लाख मानिससम्म सहायताकर्मी पुगेको जनाएको छ ।

यस वर्ष आफ्नो विश्वव्यापी मानवीय अपीलमा संयुक्त राष्ट्रसङ्घले आफ्नो उद्देश्यहरूमा लगाम लगाउने प्रयास गरेको छ ।

यो वर्ष ३।१ अर्ब अमेरिकी डलर माग गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले भनेको छ, ‘सन् २०२४ को प्रतिकार्य रणनीति देशभरका अति गम्भीर मानवीय आवश्यकता भएका व्यक्तिहरू, विशेष गरी अग्रपङ्क्तिमा रहेका व्यक्तिहरूमा केन्द्रित छ ।’

रूसले आफ्नो शस्त्रागारलाई बलियो बनाउँदै हालैका हप्ताहरूमा युक्रेनमाथि हवाई आक्रमण तीव्र पारेको छ । यसले लामो युद्धको लागि तयार भएको छ र यसको अर्थव्यवस्थालाई पुनः निर्देशित गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL