Logo

पाकिस्तानको वायुसेवा कम्पनीले इन्धनको बिल तिर्न सकेन, दर्जनौं उडान अवरूद्ध

पाकिस्तानको वायुसेवा कम्पनीले इन्धनको बिल तिर्न सकेन, दर्जनौं उडान अवरूद्ध



काठमाडौं । पाकिस्तानको राष्ट्रिय वायुसेवा कम्पनीले इन्धनको बिल तिर्न नसकेको भन्दै यसै साता दर्जनौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको अधिकारीहरूले बुधबार बताएका छन् ।

लामो समयदेखि कमजोर व्यवस्थापनको आरोप खेपिरहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले ऋण भुक्तानीमा आएको समस्याका कारण भुक्तानी सन्तुलनको सङ्कटसँग जुधिरहेका बेला रकम अभाव हुँदै गएको जनाएको छ ।
पीआईएका उपप्रवक्ता अतहर अवानले मङ्गलबार र बुधबार ४८ वटा अन्तर्राष्ट्रिय र आन्तरिक उडान रद्द गरिएको जानकारी दिए ।

नाम नबताउने शर्तमा पीआईएका एक अर्का अधिकारीले एएफपीसँग भने ‘इन्धन आपूर्तिमा अवरोधको कारण बक्यौता नतिर्नु हो किनभने पीआईए वित्तीय सङ्कटको सामना गरिरहेको छ र पाकिस्तान स्टेट आयललाई समयमै बक्यौता तिर्न सकिरहेको छैन ।

दशकौंदेखिको कमजोर व्यवस्थापन र अस्थिरताले पाकिस्तानको अर्थतन्त्रलाई अस्तव्यस्त बनाएको छ र यस वर्ष इस्लामाबादलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट कर्जा तिर्नका लागि अर्को सम्झौतामा जान बाध्य पारिएको छ ।
अन्तरिम सरकारले राज्यद्वारा सञ्चालित कम्पनीहरूको लागि व्यापक निजीकरण योजनाको एक भागको रूपमा एयरलाइन बेच्ने बताएको छ ।

कामचलाउ प्रधानमन्त्री अनवार उल हक ककरले गत साता एक वक्तव्य जारी गर्दै भनेका थिए, ‘राष्ट्रिय विमान सेवा (एयरलाइन्स)को निजीकरणको प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्छ र राष्ट्रिय कोषलाई थप आर्थिक क्षति हुन नदिन द्रूत पार्नुपर्छ ।’

पाकिस्तान स्टेट आयल (पीएसओ) का एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा भने, ‘सरकारी स्वामित्वको इन्धन आपूर्तिकर्ताले पीआईएले प्राथमिकता दिएका उडानका लागि मात्र इन्धन उपलब्ध गराइरहेको छ ।’

पीएसओका एक अधिकारीका अनुसार पीआईएले यसै साता तेल कम्पनीलाई आफ्नो बक्यौता तिर्नका लागि दैनिक १० करोड पाकिस्तानी रुपैयाँ (करिब तीन लाख ६० हजार अमेरिकी डलर) तिर्न सहमत भएको थियो ।

‘बुधबार पीएसओले १५ करोड भारु भुक्तानी पायो, बदलामा २६ वटा उडानमा इन्धन भरेको थियो,’ ती अधिकारीले भने ।
एअरलाइन्सले एक विज्ञप्ति जारी गर्दै ‘आफ्नै स्रोतबाट’ इन्धनको मूल्य तिरेपछि बिहीबारदेखि सामान्य सेवा सुरु हुने अपेक्षा गरेको जनाएको छ ।

एअरलाइन्सले थप विवरण भने दिएको छैन । ब्लूमबर्गले यसअघि पीआईएसँग ७४३ अर्ब भारु (करिब २.५ अर्ब अमेरिकी डलर) को दायित्व रहेको जनाएको थियो ।

सरकारले घाटामा रहेको व्यावसायिक एयरलाइनलाई राष्ट्रियकरण गरेपछि पीआईए सन् १९५५ मा अस्तित्वमा आएको थियो र १९९० को दशकसम्म तीव्र नाफाको आनन्द उठाएको थियो ।

सन् २०२० को मे महिनामा कराँचीमा एयरबस दुर्घटना हुँदा ९७ जना यात्रु र चालक दलका सदस्यको मृत्यु हुनुका साथै शृंखलाबद्ध हडताल, अपहरण र दुर्घटनाका कारण पनि एयरलाइनको साखमा धक्का लागेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL