Logo

के–के हुँदैछ इजरायल हमास युद्धमा ? प्यालेस्टिनीहरूले गाजा छाड्न थालेको इजराइली सेनाको दाबी

के–के हुँदैछ इजरायल हमास युद्धमा ? प्यालेस्टिनीहरूले गाजा छाड्न थालेको इजराइली सेनाको दाबी



काठमाडौं । इजराइल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजराइली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजराइली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताएका छन् । उनका अनुसार प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूपमा दक्षिणतिर जान थालेका छन् ।

“हामीले प्यालेस्टिनी नागरिकहरू उल्लेखनीयरूमा दक्षिणतिर जान सुरु गरेको देखेका छौँ, हाम्रो चेतावनीलाई सर्वसाधारणले सुनिरहेको देखेका छौँ, उनीहरूले चलाखीपूर्वक काम गरिरहेका छन्, खतरनाक क्षेत्रबाट बाहिर निस्किरहेका छन् र उनीहरूको परिवारका लागि यो सही हो भन्ने बुझेका छन्”, उनले भने।

शुक्रबार इजराइली सेनाले गाजा सहरबाट बाहिर निस्कन सर्वसाधारणलाई आह्वान गरेको थियो । आईडीएफले युद्धमा सर्वसाधारण प्रभावित नहोउन् भन्ने चाहना व्यक्त गरेको थियो । आईडीएफले हमास र उसका सैन्य पूर्वाधारहरूमा हमला गर्न गइरहेको बताएको थियो ।

“हामीले हाम्रो मनसायलाई पहिले नै बतायौँ किनकी यसमा कुनै सैन्य तर्क थिएन तर यद्धबाट सर्वसाधारण प्रभावित हुनु नपरोस् भन्ने हामी चाहन्छौँ”, उनले भने, “हामीले युद्धमा सर्वसाधारणलाई त्यहाँ समावेश गरेका छैनौँ र तिनीहरू हाम्रा शत्रु होइनन्, हामी कुनै पनि सर्वसाधारणलाई मार्ने वा घाइते बनाउने प्रयास गरिरहेका छैनौँ, हामी हमास र उसका सैन्य पूर्वाधारहरूसँग लडिरहेका छौँ, जहाँ हामीले गाजा पट्टी र गाजा पट्टीका उत्तरी भागलाई लक्षित गरेका थियौँ ।”

लेफ्टिनेन्ट कर्णेल कनरिकसले उत्तरी गाजाबाट प्यालेस्टिनीहरूलाई बाहिर जानबाट रोक्न हमासले प्रयास गरिरहेको बताए । “अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन्देश र चेकपोइन्टका माध्यमबाट हमासले प्यालेस्टिनी नागरिकहरूलाई उक्त क्षेत्र खाली गर्नबाट रोक्ने प्रयास गरिरहेको छ, मलाई लाग्छ यो शङ्कास्पद छ ।” उनले आफ्नै सुरक्षाका लागि प्यालेस्टिनीहरूले चाँडोभन्दा चाँडो उक्त क्षेत्र खाली गर्ने आशा व्यक्त गरे ।

हवाई हमलामा हमासको वायु सेना प्रमुख मारिएको इजराइली सेनाको भनाइ

गए राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायु सेनाले बताएको छ । हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजराइली वायु सेनाले उल्लेख गरेको छ ।

इजराइली वायु सेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतङ्कवादीहरूलाई निर्देशन दिनका लागि धेरै हदसम्म जिम्मेबार रहेको बताएको छ । “साथै पछिल्लो दिनमा वायु सेनाको लडाकु जेटहरूले हमास आतङ्कवादी सङ्गठनको मुख्यालयमा आक्रमण गरे जहाँबाट उक्त सङ्गठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो”, सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजराइली वायु सेनाले भनेको छ, “शनिबारको घातक हमलामा आतङ्कवादीहरूलाई निर्देशन दिनेमध्येका एक गाजा सहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन् ।”

गत राति भएको अर्को छुट्टै आक्रमणमा इजराइली वायु सेनाले गत शनिबार हमासले गरेको आक्रमणका क्रममा इजराइलमा घुसपैठ गर्ने हमास कमाण्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको बताएको छ । हमासले आतङ्कवादी सङ्गठनविरुछ इजराइललाई रक्षा गर्ने क्रममा इजराइली वायु सेना र इजराइली प्रतिरक्षा फौजले आक्रमणलाई जारी राखेको बताइएको छ ।

इजराइलको निकासी योजना ‘पूर्णतः असम्भव’ ः बोरेल

युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजराइलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको शनिबार बताएका छन् । इजराइलको इतिहासमा सबैभन्दा घातक हमलाको बदला लिन प्यालेस्टिनी इस्लामिस्ट सङ्गठनविरुद्ध अपेक्षित जमिन आक्रमण गर्नुअघि इजराइलले उत्तरी गाजाका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी दिएको छ ।

“युरोपेली युनियनको अधिकारीको प्रतिनिधित्व गर्दै यो (खाली गराउने योजना) कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको म भन्छु”, चीनको तीन दिने कूटनीतिक भ्रमणको अन्तिम दिन बेइजिङमा बोरेलले पत्रकारहरूसँग भने, “गाजा जस्तो परिस्थितिमा २४ घन्टाभित्र १० लाख मानिसलाई सार्न सकिन्छ भनेर कल्पना गर्नु मानवीय सङ्कट मात्र हुन सक्छ ।”

युरोपेली युनियनका प्रमुख उर्सुला भोन डेर लेयेनले इजराइलको भ्रमणका क्रममा शुक्रबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई समर्थन रहेको बताएकी थिइन । “युरोप इजराइलको पक्षमा उभिन्छ”, इजराइललाई आफ्ना नागरिकहरूको रक्षा गर्ने कर्तव्य थियो भन्दै उनले भने ।

तर आफ्नो रक्षा गर्ने प्रक्रियामा इजराइल पनि अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बाध्य हुन्छ भन्ने बेइजिङमा बोरेलको टिप्पणीले त्यस्तो पुष्टिमा सीमा निर्धारण गरेको देखिएको छ ।“स्थिति स्पष्ट छ, हामी वास्तवमै आफ्नो रक्षा गर्ने इजराइलको अधिकारको सम्मान गर्छौँ”, बोरेलले भने, “तर कुनै पनि अधिकारको कुरा गर्दा यसमा सीमा हुन्छ र यो सीमा भनेको अन्तर्राष्ट्रिय कानून हो ।”

प्रतिक्रिया दिनुहोस्
MBL