Logo

अमेरिकी जंगलमा लागेको डढेलोवाट मर्नेको संख्या ६७ पुग्यो, सहर नै ध्वस्त

अमेरिकी जंगलमा लागेको डढेलोवाट मर्नेको संख्या ६७ पुग्यो, सहर नै ध्वस्त



काठमाडौँ । अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो । उल्लेखनीय कुरा के छ भने धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको बताए । हवाईका गभर्नरले भनेका छन् कि मृत्युहरू खुला ठाउँमा भएको हो र भवनहरू भित्र होइन ।

मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए । हवाई प्रशासनले आगलागीको अनुसन्धान र सर्वेक्षण गर्न आदेश दिएको छ ।

चेतावनीको साइरन किन बजेनन् भन्ने पनि छानबिन हुनेछ, जसका कारण बासिन्दा सचेत हुन सकेका छैनन् । गत हप्ताको सुरुमा हवाईमा आगलागी भएको थियो, जुन अनियन्त्रित अवस्थामा पुगेको थियो ।

हवाईका गभर्नर जोस ग्रीनले लाहाइना नजिकैको आगो पहिले निभाइएको र त्यसपछि दमकल विभागले अन्य क्षेत्रमा ध्यानाकर्षण गराए पनि पछि आगोले लहाइना सहरलाई ध्वस्त पारेको बताए ।

आगलागीका कारण दूरसञ्चार प्रणालीमा क्षति पुगेको गभर्नरले जनाएका छन्, जसका कारण मानिसले एकअर्कालाई सचेत गराउन पनि सकेनन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हवाईका गभर्नर जोस ग्रीनसँग कुरा गरेका छन्। उक्त कुराकानीमा गभर्नरले राष्ट्रपतिलाई अवस्थाबारे जानकारी दिँदै सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

अमेरिकी सरकारले हवाईमा भएको आगलागीबाट प्रभावितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी सरकारले हवाईमा घरहरू पुनर्निर्माण र मर्मत गर्नेछ र मानिसहरूलाई किफायती ब्याज दरमा ऋण पनि उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL