Logo

दक्षिण कोरियाको समग्र निर्यात दरमा वृद्धि, जुलाईमा ५५.४ अर्ब अमेरिकी डलरको निर्यात

दक्षिण कोरियाको समग्र निर्यात दरमा वृद्धि, जुलाईमा ५५.४ अर्ब अमेरिकी डलरको निर्यात



काठमाडौं । कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभावित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

खोपका कारण कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ ।

दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो वर्षभन्दा २९.६ प्रतिशतले बढेर जुलाईमा ५५.४४ अरब अमेरिकी डलर कायम भएको छ ।

सन् १९५६ मा तथ्याङ्क सङ्कलन हुन थालेदेखि यता यो नै सबैभन्दा धेरै निर्यात भएको सरकारी अधिकारीले बताएका छन् । यस पहिले सेप्टेम्बर २०१७ मा दक्षिण कोरियाको निर्यात दरमा ५५.१२ अर्ब अमेरिकी डलर बराबरको वृद्धि भएको थियो ।

जुलाईमा आयात ३८.२ प्रतिशतले बढेर ५३.६७ अरब अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ । यसले गर्दा दक्षिण कोरियाको व्यापार बचत १.७७ अर्ब अमेरिकी डलर पुगेको छ । व्यापार सन्तुलनको अवस्थामा निरन्तर १५ महिनासम्म चिन्ताजनक रहेको थियो । दक्षिण कोरियामा लगातार चौथो महिना निर्यात दरमा २० प्रतिशतभन्दा बढी ले वृद्धि भएको छ भने गत वर्षको नोभेम्बरदेखि नौ महिनासम्म वृद्धिमा निरन्तरता कायम छ ।

यस वर्षको पहिलो सात महिनामा निर्यात ३५८.७ अर्ब अमेरिकी डलर बराबरको नयाँ उचाइमा पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २६.६ प्रतिशतको वृद्धि हो । -रासस

प्रतिक्रिया दिनुहोस्
MBL