Logo

अमेरिकी राष्ट्रपतिद्वारा ६० खर्ब डलरको बजेट सार्वजनिक, जलवायु परिवर्तनविरुद्धको लडाइँमा ८०० अर्ब डलर खर्चिने

अमेरिकी राष्ट्रपतिद्वारा ६० खर्ब डलरको बजेट सार्वजनिक, जलवायु परिवर्तनविरुद्धको लडाइँमा ८०० अर्ब डलर खर्चिने



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ६० खर्ब डलर खर्च योजना रहेको आफ्नो पहिलो वार्षिक बजेट सार्वजनिक गरेका छन् । उनको योजनामा सम्पन्न अमेरिकीहरूले तिर्नुपर्ने करको दर निकै बढाइएको छ ।

त्यस्तो एउटा ठूलो प्रस्तावमा ठूला सामाजिक कार्यक्रमहरू र जलवायु परिवर्तनविरुद्धका सघर्षमा लगानी गरिने उल्लेख छ। सो बजेट अमेरिकी संसद् कङ्ग्रेसबाट पारित हुनुपर्छ।

रिपब्लिकन पार्टीका सिनेटर लिन्ड्से ग्राहमले बाइडनको योजनालाई ‘अनावश्यक रूपमा महँगो’ भनेर आलोचना गरेका छन्। उक्त योजनाअन्तर्गत ऋणभार सन् २०३१ सम्ममा कुल ग्राहस्थ्य उत्पादन जीडीपीको ११७ प्रतिशत पुग्नेछ। त्यो बिन्दु दोस्रो विश्वयुद्धताकाको भन्दा बढी हो ।

ह्वाइटहाउसले यो प्रस्तावबाट अर्थतन्त्रलाई तल्लो तहबाटै उकास्न सहयोग पुग्ने अपेक्षा गरेको छ । यसपालिको बजेटमा ८०० अर्ब डलरभन्दा बढी रकम जलवायु परिवर्तनविरुद्धको लडाइँ एवं स्वच्छ ऊर्जामा लगानी बढाउने, २०० अर्ब डलर तीन र चार वर्षका बालबालिकाका लागि निशुल्क प्रि–स्कूलका लागि, १०९ अर्ब डलर सबै अमेरिकीको लागि दुईवर्षे निशुल्क सामुदायिक कलेजका लागि छुट्टयाइएको छ ।

यस्र्तै २२५ अर्ब डलर परिवारहरूलाई भत्ता दिने एउटा राष्ट्रिय कार्यक्रम र चिकित्सकीय बिदासम्बन्धी कार्यक्रममा खर्च गरिने उल्लेख छ जसले अमेरिकालाई तुलनात्मक समृद्ध राष्ट्रको तहमा ल्याउनेछ। बजेटमा ११५ अर्ब डलर सडक र पुलहरूका लागि एवं १६० अर्ब डलर सार्वजनिक यातायात र रेलसेवाका लागि र १०० अर्ब हरेक अमेरिकी घरधुरीमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच सुधार गर्ने उल्लेख छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL