काठमाडौं । पोर्टेबल डकुमेन्ट फर्म्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चार्ल्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ ।
सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जानकारी दिएको हो । एडोबका प्रमुख कार्यकारी शान्तनु नारायनले कम्पनीका कर्मचारीलाई लेखेको इमेलमा कम्पनीका हिरोका रुपमा परिचित गेस्चेको निधनले एडोब परिवारमा गहिरो चोट पुगेको उल्लेख छ ।
गेस्चेको निर्देशनमा एडोबले विश्व प्रसिद्ध सफ्टवेयरहरु पिडिएफ, एक्रोब्याट, इलस्ट्रेटर, प्रिमियर प्रो र फोटोसप बनाइसकेको छ । यी सफ्टवेयर निकै लोकप्रिय छन् ।
सन् २००९ मा राष्ट्रपति बाराक ओबामाले गेस्चेलाई प्रविधि क्षेत्रको राष्ट्रिय पदकले सम्मानित गरेका थिए । रासस एएफपी