काठमाडौं । बीमा कम्पनीहरुले नयाँ–नयाँ योजनाहरु सार्वजनिक गर्ने क्रममा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना जारी गरेको छ । इन्स्योरेन्सले ‘लिमिटेड इन्डमेन्ट’ बीमा योजना सार्वजनिक गरेको हो । यस बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्ने इन्स्योरेन्सले जनाएको छ ।
यस योजनाको अर्को विशेषता भनेको बीमा अवधिमा बिमितको ज्यान गएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम दुई सय २५ प्रतिशत सम्म र आर्जित बोनस भुक्तानी गरिनेछ ।
यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिने छ । यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ ।
यस योजनामा बीमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको रिलाइन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।
यो योजनासँगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।