Logo

आईतबारदेखि महालक्ष्मी लाईफ संचालनमा, सर्वसाधारणलाई ६० करोडको आईपीओ जारी गर्दै

आईतबारदेखि महालक्ष्मी लाईफ संचालनमा, सर्वसाधारणलाई ६० करोडको आईपीओ जारी गर्दै



काठमाडौं । महालक्ष्मी लाईफ ईन्स्योरेन्सले आईतबारदेखि आफ्नो सेवा शुभारम्भ गर्ने भएको छ । नेपालकै कान्छो जीबन बीमा कम्पनीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै १९ औं जीबन बीमा कम्पनीको रुपमा संचालनमा ल्याउने घोषणा गरेको हो ।

कम्पनीले आईतबार नै आफ्नो प्रधान कार्यालय संचालनमा ल्याएसँगै सातै ओटा प्रदेशमा एकैचोटी सेवा संचालन गर्ने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईका अनुसार कम्पनीले यस अघि नै आफ्नो सेवा संचालनमा ल्याउने कोशिस गरेको भएपनि सोही अनुरुप पूँजी जुटाउन नसक्दा संचालनमा ल्याउन सकिएको थिएन । ‘हाल पूँजी जम्मा गरेर सातै ओटा प्रदेशमा एकैपटक सेवा संचालनमा ल्याउन लागेका छौं,’ उनले भने, ‘आईतबार देखि सातै प्रदेशका शाखाहरुबाट सेवा संचालन गर्नेछौं ।’

कम्पनीले १३ ओटा शाखा संचालनको अनुमती लिएको हुनाले विर्तामोड, ईटहरी, लहान, नारायणगढ लगायतका शाखाहरु भने फागुन दोस्रो साताबाट संचालनमा ल्याउने घोषणा गरेको छ । कम्पनीले आगामी बर्षको असारसम्म नेपालभर ३५ ओटा शाखा कार्यालयहरु संचालनमा ल्याउने रणनीति लिएको छ ।

यस्तै कम्पनीले सेवा शुभारम्भ गरेसँगै ३ ओटा नयाँ र फरक बीमा योजना पनि सार्वजनिक गर्ने भएको छ । कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा योजना, लगानी फिर्ता म्यादी बीमा योजना र सावधिक बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले महालक्ष्मी डबल बीमा योजना अन्तरगत बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानी ग्यारेन्टी गरेको छ । यस्तै दोस्रो योजना अन्तरगत बीमाशुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता हुने योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो नयाँ बीमा योजना अन्तरगत न्युनतम बीमाशुल्कमा सुरक्षा, बचत र कम्पनीको नाफामा पनि सहभागि हुन पाईने छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब रहेकोमा १ अर्ब ४० करोड रुपैयाँ चुक्ता भईसकेको र ६० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL