काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक एउटा श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ।
एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि विदेशिने ध्याउन्नमा हुन्छिन्। उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो गर्नका लागि अभिभावकलाई धौधौ पर्छ। केही समययता देखिएको आर्थिक शिथिलताले बैंकको कर्जा सेवा, व्यापारदेखि लिएर आपसी व्यवहारसम्ममा पारेको प्रभावलाई झल्काउँदै अप्ठेरो परेका बेला कर्जा वा सापटी हात पार्न असहज भएको अवस्थालाई मर्मस्पर्शी ढंगबाट झल्काइएको छ।
सापटीका लागि अनेक प्रयास गर्दा पनि केही उपाय नलागेपछि अन्ततः ७ महिनाको पर्खाइपछि ती व्यापारीले छोरीको उच्च शिक्षाका लागि बैंकबाट शैक्षिक कर्जा पाउँछन् र छोरीलाई विदेश पठाउने सपना साकार पार्न सहज हुन्छ।
छोरी विदेशिने भएपछि खुसी साट्न खाना खाने निम्तोमा आएको छोरीको साथीको अभिभावकले छोरी जन्मिएलगत्तै जीवन बीमा गरिदिएकाले उच्च शिक्षाका लागि चाहिने पैसाको जोहो गर्न कुनै तनाव नभएको सुनाउँदा ती व्यापारी पिता समय छँदै आफूले जीवन बीमा नगरेकोमा पछुतो मान्छन्। ढिलै भए पनि उनी जीवनको उत्तराद्र्धका लागि पनि जीवन बीमा चाहिन्छ भन्ने निष्कर्षसँगै बीमा गर्न तत्पर हुन्छन्।
यो श्रव्यदृश्य सामग्रीले छोराछोरीको उच्च शिक्षाका लागि नेपालको निम्न मध्यम वर्गीय परिवारका अभिभावकले भोग्नुपरिरहेको साझा समस्या र चुनौतीको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ। जीवन बीमालाई लिएर आमनागरिकमा अझै पनि विद्यमान अज्ञानता, आर्थिक रुपमा सम्पन्न भए पनि भविष्यका लागि आवश्यक पर्ने पैसाको जोहोका लागि समय रहँदै बचत, लगानी गर्नुपर्छ भन्ने चेतना र अभ्यासको पनि अभाव रहेको परिवेशलाई दर्शाइएको छ।
क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारीले बीमा सचेतनाका लागि भन्ने मूल मन्त्र बोकेको इन्स्योरेन्स खबरका तर्फबाट तेस्रो सचेतनामूलक श्रव्यदृश्य सामग्री पस्किन पाएकोमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले बीमाको सचेतनाका माध्यमबाटै संकटको समयमा काँध थापिदिने विश्वासिलो सहयात्री बीमाको सुरक्षा छातामुनि सबैलाई समेट्न सम्भव हुने भएकाले नेटवर्कले निकट भविष्यमा थप श्रव्यदृश्य सामग्री प्रकाशनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।