काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरुका लागि चितवनको सौराहास्थित होटल सेभेन स्टारमा ‘लिडर्स नाइट विथ भुषण दाहाल’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले साउन २०८१ मा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सहभागीहरूले गैंडाकोटको मौलाकालिका मन्दिरको दर्शन र दियालो बंगला संग्रहालयको अवलोकनको अवसर पनि पाए।
यो कार्यक्रम देशभरबाट छनोट भएका करिब २२५ जना वरिष्ठ अभिकर्ताहरुको सहभागितामा सम्पन्न भयो। नेशनल लाइफका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा, प्रदेश प्रमुख, र विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा वरिष्ठ पत्रकार भुषण दाहालले नेतृत्वका गुण र भविष्य निर्माणका विषयमा विशेष प्रशिक्षण दिएका थिए। दाहालले नेतृत्वकर्ताले समस्याहरुको समाधानमुखी सोच राख्दै आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा योजनामा छनोट भएका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो। सम्मानित अभिकर्ताहरुले यस्तो कार्यक्रमले आफ्नो व्यवसायिक सफलता र वृत्ति विकासमा थप प्रेरणा मिलेको अनुभव सुनाएका थिए। मनोरञ्जनका साथै ज्ञान र प्रेरणाको अवसर दिएको यो कार्यक्रमले सहभागी अभिकर्ताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको छ।