काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश लाल श्रेष्ठ पुनः नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिले मंसिर २५ गते बसेको बैठकमा श्रेष्ठलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठको पहिलो कार्यकाल यसै वर्ष पुस मसान्तमा समाप्त हुँदैछ। २०७७ माघ १ गतेबाट कार्यभार सम्हालेका श्रेष्ठले अब २०८५ पुस मसान्तसम्म एशियन लाइफ इन्स्योरेन्सको नेतृत्व गर्नेछन्।
सीईओ नियुक्तिसम्बन्धी निर्णय नेपाल बीमा प्राधिकरणलाई ऐन, २०७९ अनुसार ७ दिनभित्र जानकारी गराउनुपर्ने प्रावधानअनुसार सञ्चालक समितिले आवश्यक कागजातसहित निवेदन पेस गरिसकेको छ। यद्यपि, प्राधिकरणले यसपटक अनुमोदन गर्ने परम्परागत अभ्यासलाई बदर गर्दै बीमा ऐन र बीमक संस्थागत सुशासन निर्देशिका, २०८० लाई पूर्णरूपमा कार्यान्वयनमा ल्याएको छ।
श्रेष्ठ यसअघि एशियन लाइफ इन्स्योरेन्सको सञ्चालकसमेत भइसकेका छन्। उनले गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको प्रतिनिधिका रूपमा एशियन लाइफ इन्स्योरेन्समा काम गरेका थिए। गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा झन्डै डेढ दशकसम्म सीईओ पदमा रहेर श्रेष्ठले बैंकिङ क्षेत्रमा उल्लेख्य अनुभव हासिल गरेका छन्।
पछिल्लो समय श्रेष्ठ एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट यती एयरलाइन्स र अर्किड होल्डिङ्सको सञ्चालक समितिमा पनि संलग्न छन्। विभिन्न क्षेत्रमा लगानी गर्दै आएको एशियन लाइफ इन्स्योरेन्सले श्रेष्ठको नेतृत्वमा संस्थागत विकास र नयाँ योजनाहरू अघि बढाउने अपेक्षा राखेको छ।