काठमाडौं । बाढी पहिरोबाट बीमा कम्पनीहरूमा परेको दाबीको छिटो भुक्तानी गर्न बीमकहरुलाई नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । गएको असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाका कारण बागमति प्रदेश र कोशी प्रदेशमा धेरै धनजनको क्षति भएको थियो ।
उक्त क्षतिको सुरक्षास्वरुप गरिएको बीमाको दाबी भुक्तानी कतिपय स्थानमा हालसम्म नभएपछि प्राधिकरणले ताकेता गरेको हो । प्राधिकरणले पटक पटक निर्देशन दिँदा पनि कम्पनीहरूले भुक्तानीलाई तीव्र नबनाएपछि प्राधिकरणले सबै बीमा कम्पनी र शाखाहरुका नाममा पत्र काट्दै ताकेता गरेको हो ।
कम्पनीहरूले अत्यन्त न्यून संख्या र रकम भुक्तानी भएकोमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ बताएको छ । ‘बीमा दाबी सम्बन्धमा पटक–पटक प्राधिकरण र बीमकका प्रतिनिधिको उपस्थितिमा भएको छलफल तथा निर्णय अनुसार तदारुकताकासाथ क्षति मूल्याङ्कन (सर्भे) गराई दाबी फछ्यौट कार्य प्रभावकारी बनाउनु हुन निर्देशनुसार अनुरोध छ,’ प्राधिकरणले दिएको निर्देशनमा लेखिएको छ ।