काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (आईसीसीआई २०२४) काठमाडौंमा शुरु भएको छ ।
कात्तिक ६ गतेदेखि नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलनको २०औं संस्करण नेपालमा सुरु भएको हो ।
कात्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरु तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुनेछ ।
यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीहरुबीच छलफल केन्द्रित हुनेछ ।
सम्मेलनका विभिन्न सत्रहरुमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, वीमा क्षेत्रका चुनौती तथा अवसरहरु, बीमाको अन्तर र वीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतीका साथै कार्यपत्रहरुमाथि छलफल हुने कार्यक्रम रहेको छ ।
सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार। गैरसरकारी संस्था, र बीमा क्षेत्रका विज्ञहरु गरी चार सयभन्दा बढीको सहभागिता रहेको छ ।
समाजमा आर्थिकरुपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरुको वित्तीय जोखिम न्युनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।