Logo

निर्माण व्यवसायीको ट्रक र मेसिनमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग

निर्माण व्यवसायीको ट्रक र मेसिनमा आगजनी, दोषीलाई कारवाही गर्न महासंघको माग



कोभिड–१९ को त्रासबीच पनि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरुलाई हतोत्साहित गर्ने गरी अज्ञात समुहबाट भइरहेका हिंसात्मक घटनाहरू प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

रुपन्देही जिल्लाको सियारी गाउँपालिकामा सियारी पहुँच मार्ग अन्र्तगतको सडक खण्ड निर्माणमा प्रयोग भइरहेको ट्रक र डिष्ट्रिव्युटर (मेसिन) मा अज्ञात समुहबाट बुधवार विहान आगजनी गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाँउपालिकाको भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिव्युटरमा आगजनी गर्दा कम्तीमा पनि ५० लाख भन्दा बढीको क्षति भएको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

निर्माण व्यवसायी संघ नवलपरासीका अध्यक्ष समेत रहेका लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका उपाध्यक्ष नविन ज्ञवालीको नविन कन्स्ट्रक्सनको लु.१.क. ६९७६ नम्बरको ट्रक र डिष्ट्रिव्युटरमा आगजनी गरिएको हो । ती सवारी साधन पुष्पाञ्जली–समिर–जिम्बा जेभीद्वारा सडक निर्माणमा प्रयोग भइरहेका थिए ।

आगजनीका कारण दुवै उपकरणहरु पूर्ण रुपमा काम नलाग्ने गरी ध्वस्त भएका छन् । निर्माण व्यवसायी र उनीहरुका उपकरणहरुको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासंघले जनाएको छ ।

यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी महासंघले दिएको छ । तत्काल दोषीलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित् निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन महासंघका महासचिव दाहालले जोडदार माग गरेका छन् । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दौ व्यवस्था मिलाउन पुनः एक पटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ

प्रतिक्रिया दिनुहोस्
MBL