Logo

चालु आवमा ६९ पूर्वाधार सम्पन्न, ६ महिनामा लक्ष्यको ३५ प्रतिशत राजश्व संकलन

चालु आवमा ६९ पूर्वाधार सम्पन्न, ६ महिनामा लक्ष्यको ३५ प्रतिशत राजश्व संकलन



काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्षको पहिलो ६ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ । यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १ सय ६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ ।

त्यसैगरी ३ किलोमिटर सडक ढलान गरिएको छ । ९ सय ७२ मिटर ढल राख्ने र ८ सय ६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । कामपाभित्र करिब १ हजार ४ सय ५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र ८ मिटरभन्दा कम चौडाइका सडक ९ सय ५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

२ सय १ चालु अवस्थामा र १ सय ६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी ३ सय ६६ मध्ये २ सय २५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरु हुन बाँकी रहेको कामपाले जानकारी दिएको छ । यता सामाजिक विकासतर्फ १ अर्ब ६२ करोड रुपैयाँको योजना छन् । सामाजिक सुरक्षासम्बन्धी कामपाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त सःशर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट ८ गरी १ सय ९ कार्यक्रम तय गरेको छ । तीमध्ये ६६ कार्यक्रम शुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन् ।

त्यसैगरी आयतर्फ अहिलेसम्म ३ अर्ब १० करोड राजश्व सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा
४ अर्ब २२ करोड सङ्कलन भएको थियो । लक्ष्यका आधारमा गएको वर्षको पहिलो ६ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ । सङ्कलित रकममध्ये १ अर्ब ७५ करोड अनलाइन प्रणालीबाट प्राप्त भएको हो । कामपाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन् ।

कामपाले चालु आवमा १४ अर्ब २६ करोड ६५ लाख बजेट विनियोजन गरेको थियो । कामपा भौतिक पूर्वाधार विभागका लागि चालु आवको विनियोजित बजेट ३ अर्ब १ करोड ६१ लाख ६ हजार रुपैयाँ छ ।रासस

प्रतिक्रिया दिनुहोस्