Logo

लकडाउनकैबीच भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणले लियो गति, ३ महिनामा निर्माण सम्पन्न हुने

लकडाउनकैबीच भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणले लियो गति, ३ महिनामा निर्माण सम्पन्न हुने



काठमाडौं । लकडाउनकै अवधिमा भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको उक्त सडकखण्ड निर्माणमा तिब्रता दिएको सडक आयोजना कार्यालयले जानकारी दएको छ ।

तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६६ प्रतिशत पूरा भएको कार्यालयले जानकारी दिएको हो । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३ दशमलब ६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्म चार लेन सडक १४ दशमलब ५ किलोमिटर र पर्सा चोकदेखि कपिलवस्तुको तौलिहवासम्म दुई लेन सडक २३ किलोमिटर गरी जम्मा ४१ दशमलब १ किमी सडक निर्माणलाई निरन्तरता दिइएको कार्यालयले जानकारी दिएको छ ।

भैरहवा–लुम्बिनी– तौलिहवासम्मको सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी गवार कन्स्ट्रक्सन लिमिटेड गुणगाँवले सन २०१७ जुन २२ मा सम्झौता गरेको हो । निर्माण शुरु गरिएको ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०२० अप्रिल ३० सम्म म्याद थपेको थियो ।

थपिएको म्यादसम्म पनि मजदूरको अभाव र नदीजन्य पदार्थको समस्याका कारण पूरा गर्न नसकिएको जानकारी दिँदै आयोजना प्रमुख प्रदीपराज शाक्यले अबको तीन महिनामा निर्माण पूरा हुने जानकारी दिएका छन । एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको सो सडकका बीच भागमा ग्रिन बेल्ट तथा दायाँबायाँ सर्भिस लेन र नाली रहने आयोजना प्रमुख शाक्यले बताए । उक्त आयोजनाको कुल लागत दुई अर्ब १६ करोड ८५ लाख ७५ हजार ९११ रुपैयाँ रहेको छ ।

हालसम्म नाला, ग्याभिन, रुख कटान, बिजुलीका खम्बा तथा तार जडान र मुआब्जा वितरणको काम सकिएको बताउँदै सडकको प्राविधिक समन्वय, निगरानी र परीक्षण गर्ने इञ्जिनियरिङ कन्सलटेन्टका निमित्त टिम प्रमुख इ अयोध्या श्रेष्ठले अब भने कालोपत्रेको काम धमाधम भइरहेको बताए । बन्दाबन्दी समयमा पनि नियमितरुपमा काम भइरहेको निर्माण कम्पनीका नेपाली प्रतिनिधि मधुसूदन आचार्यले भने, ‘निर्माणका क्रममा कुनै समस्या नपरे अबको तीन महिनामा सम्पूर्ण सडक निर्माणको कार्य पूरा गरिने छ ।’

नेपालमा पैदलमार्गबाट धेरै पर्यटक भित्रिने मुख्य नाकाका रुपमा रहेको बेलहियासंँग बुद्धचोक हुँदै जोडिएको सो सडकको निर्माणपछि बुद्ध जन्मस्थल लुम्बिनीलगायत बुद्धस्थल अवलोकन भ्रमणमा यात्राका लागि सजिलो हुने देखिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL