Logo

लकडाउनमा पनि पुनः सुचारु भयो विकासको काम, सामाजिक दूरी राखेर हुलाकी सडकको निर्माण शुरु

लकडाउनमा पनि पुनः सुचारु भयो विकासको काम, सामाजिक दूरी राखेर हुलाकी सडकको निर्माण शुरु



काठमाडौं । लकडाउनका कारण एक महिनादेखि बन्द रहेको हुलाकी सडकको निर्माण कार्य पुनः शुरु भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेकोे लकडाउनमा पनि सुरक्षा सर्तकता अपनाएर सप्तरीको राजविराज–कञ्चनपुर सडक खण्डअन्तरगतको हुलाकी सडक निर्माण कार्य शुरु गरिएको हो ।

कामदारबीच भौतिक तथा सामाजिक दूरी कायम राखी आवश्यक सुरक्षा सर्तकता अपनाएर काम शुरु गरिएको बज्रगुरु कन्स्ट्रक्सन कम्पनीका आयोजना व्यवस्थापक कलियान गौतमले बताए । कम्पनीले ठेक्का पाएका राजविराज–कञ्चनपुर सडकअन्तरगतको बनौलीदेखि सोनरा पकरीसम्मको तत्काल ८ किलोमिटरको हुलाकी सडकको निर्माण कार्य गर्न बाटोमा अहिले माटो दिएर मिलाउने काम शुरु गरिएको हो ।

तराई–मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी राजमार्गको निर्माण सडकमा अहिले माटो मिलान गर्ने काम तीव्र रुपमा थालिएको कम्पनीका व्यवस्थापक गौतमले जानकारी दिए । ‘सडक निर्माण शुरु भएको छ’, उनले भने, ‘यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण पूरै प्रभावित हुने अवस्था आएपछि निरन्तर समन्वयपछि काम शुरु भएको छ ।’ प्रमुख जिल्ला अधिकारीसँग निरन्तर छलफलपछि निर्माण कार्य शुरु भएको उनको भनाई छ ।

‘सामाजिक दूरी कायम गरेर निर्माणस्थलमा काम भइरहेको छ’, उनले भने, ‘वर्षाअगावै सक्नुपर्ने सडकमा थुपारिएको माटोलाई अहिले धमाधम डोजर र जेसिबीबाट मिलाउने कार्य भइरहेको छ ।’ लकडाउनको मौका छोपी यो सडकखण्ड सुधारको काम गर्न लागिएको बताउँदै वर्षा शुरु हुनुभन्दा पहिला नै माटो मिलाउने र गिट्टी बिछ्याउने काम सम्पन्न गर्ने व्यवस्थापक गौतमले बताए । लकडाउनको समयमा उक्त सडकमा अहिले मानिस र सवारी साधन कम चल्ने भएकाले पनि निर्माणको काम गर्न सजिलो भइरहेको उनको भनाइ छ ।

हुलाकी सडक खण्डको बाटो टेढो होचो भएका कारणले पनि काम गर्न समस्या भइरहेको उल्लेख गर्दै उनले राजविराज–कञ्चनपुर सडक खण्डको अधिकांश ठाउँमा बिजुलीको पोल र पोलमा थुपारिएका तारसमेत समयमा नहटाएका कारण काम गर्न समस्या भइरहेको बताए ।

त्यस्तै हुलाकी सडक खण्डको विभिन्न ठाउँमा नेपालकै पुरानो चन्द्रनहर भिडेका कारण पनि यसको निर्माणमा समस्या भइरहेको गौतमले बताए । उनले भने, ‘चन्द्रनहरको पुरानो संरचनाअनुसार बाटो नछुट्याएकाले कहाँ कसरी बाटो बनाउने भने समस्या भइरहेको छ ।’ लकडाउनका कारण चन्द्रनहर र हुलाकी सडकको नयाँ नक्सा अहिलेसम्म नआएका कारण पनि हुलाकी सडक निर्माणमा ढिलाइ भएको उनको भनाई छ ।

करिब ८४ करोड रुपैयाँ लागतमा राजविराज–कञ्चनपुर सडक खण्डको २० किलो मिटर हुलाकी सडक निर्माण थालिएको सो कम्पनीले जनाएको छ । हुलाकी सडकको अन्य ठाउँमा पनि लकडाउनको समयमा सामाजिक दूरी कायम गरी छिट्टै काम शुरु गर्ने भएको छ । तत्काल बनौलीदेखि सोनरा पकरीको खाडो नदीसम्म र त्यहाँदेखि राजविराजसम्मको सडकको निर्माण कार्य शुरु गरिने कम्पनीले जानकारी दिएको छ ।

हुलाकी सडक निर्माणको काम सन् २०२० सम्म सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । तर अहिलेसम्म ५० प्रतिशत कामसमेत हुन सकेको छैन । लकडाउनका कारण पनि विगत एक महिनादेखि काम प्रभावित भएकोे छ । लकडाउनका कारण सवारी साधन सञ्चालन नहुँदा बालुवा, गिट्टी उपलब्ध नभएर केही ठाउँमा काम रोकिएको भए पनि यसको व्यवस्थापन स्थानीय सरकारले गरेमा छिट्टै कामलाई तीव्रता दिइने गौतमले बताए । हुलाकी सडक निर्माणमा माटो र गिट्टी ढुवानीमा सहजता भयो भने यसको निर्माण कार्य छिटो छरितो गर्न सकिने कम्पनीको भनाई छ/रासस

प्रतिक्रिया दिनुहोस्