काठमाडौं । सरकारले सडक, पुललगायतका संरचना निर्माणलाई निरन्तरता दिने कि रोक्ने भनी निर्णय गर्न सकेको छैन । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को असर सबै क्षेत्रमा पर्न थालेकाले सडक विभागले यस विषयमा आन्तरिक छलफल थालेको छ ।
सडक विभागको आईतबार बसेको बैठकले सकेसम्म भीडभाड नहुने गरी पूर्वाधार निर्माणलाई निरन्तरता दिन सकिने विषयमा छलफल भएको जानकारी दिएको छ । तर अहिलेसम्म कुनै निर्णय नभएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । रोगको प्रभाव अहिलेसम्म कतिपय क्षेत्रमा देखिन थाले पनि काठमाडौँ उपत्यकालगायतका स्थानमा मर्मत भइरहेको छ । कतिपय जिल्लाका सडक आयोजनामा कार्यरत इञ्जिनीयरले निर्माण कम्पनीले कामदार घर फर्किएको भन्दै काम रोक्न चाहेको बताए । उनले भने, ‘उनीहरुलाई घर नै नजाउ काम गर्नुपर्छ भन्न मिल्दैन ।’
अहिलेसम्म सडक निर्माण भइरहेको अवस्थामा २५ जनाभन्दा बढी भीड जम्मा नहुने गरी निर्माण गर्न सकिने सडक विभागले जानकारी दिएको छ । निर्माण कम्पनीले कामदार नै नभएको भनी रोकेको अवस्थाबाहेक अहिलेसम्म निर्माण ठप्प नगर्ने गरी विभागमा छलफल भइरहेको महानिर्देशक शर्माले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएपछि निर्णय हुने समेत उनले बताए । उनले भने, ‘मन्त्रालयमा छलफल भएपछि मात्रै सबै परियोजना काम गर्ने कि नगर्ने भनी निर्णय हुनेछ ।’ कतिपय आयोजनामा नेपाली मात्रै नभएर विदेशी कम्पनीसमेत काम गरिरहेका छन/रासस